काठमाडौं । विश्व तीव्र गतिमा प्रविधि, अर्थतन्त्र र राजनीतिक शक्तिको प्रतिस्पर्धामा अघि बढिरहेको वर्तमान समयमा कुनै पनि राष्ट्रको दीर्घकालीन पहिचान र सभ्यताको आधार भनेको उसको कला, संस्कृति र संगीत नै हो । भौगोलिक सीमाभन्दा पर मानव सभ्यतालाई जोड्ने शक्ति बोकेको संगीत आज विश्व समुदायमा सांस्कृतिक कूटनीतिको प्रभावकारी माध्यम बनेको छ । यिनै मूल्य र मान्यतालाई आत्मसात गर्दै नवरस संगीत पाठशालाले आफ्नो ९औँ वार्षिकोत्सव विविध सांस्कृतिक, शैक्षिक तथा सम्मान कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ ।

सतुंगलस्थित ह्वाइट दरबार पार्टी प्यालेसमा आयोजित समारोहमा संस्थाको वार्षिकोत्सव मात्र नभई संगीत, कला र संस्कृतिको माध्यमबाट समाज रूपान्तरण तथा राष्ट्र निर्माणको गहिरो सन्देश प्रवाह गरेको देखिन्थ्यो । कार्यक्रममा कला, शिक्षा, राजनीति, श्रमिक आन्दोलन, सामाजिक क्षेत्र तथा सांस्कृतिक समुदायका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरिएको थियो । आयोजकले शैक्षिक उपलब्धि र सांस्कृतिक चेतनाबीचको सम्बन्धलाई जोड्दै आगामी पुस्तालाई ज्ञानसँगै संस्कार र सिर्जनशीलताको बाटोमा अघि बढ्न प्रेरित गर्ने उद्देश्य राखेको जनाएको थियो ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा भारतकी प्रसिद्ध कथक नृत्य प्रशिक्षक रञ्जना फड्केले नवरस संगीत पाठशालाका विद्यार्थीहरूलाई कथक नृत्यसम्बन्धी कार्यशाला सञ्चालन गर्नुभएको थियो । उक्त कार्यशालाले नेपाली र भारतीय शास्त्रीय कलाबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका थिए । दक्षिण एसियाली सभ्यताको साझा सांस्कृतिक विरासतलाई पुस्तान्तरण गर्ने प्रयासका रूपमा हेरिएको यो कार्यक्रमले कला कुनै सीमाभित्र बन्द नहुने विश्वव्यापी चेतनाको माध्यम भएको सन्देश दिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि काठमाडौं क्षेत्र नम्बर १० का प्रतिनिधिसभा सदस्य प्रदीप विष्टले नेपालको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा कला र संस्कृतिको भूमिका अतुलनीय रहेको बताउनुभयो । उहाँले कुनै पनि देशको वास्तविक शक्ति केवल आर्थिक सूचकांक वा भौतिक पूर्वाधारमा सीमित नहुने उल्लेख गर्दै विश्व समुदायमा राष्ट्रलाई चिनाउने सबैभन्दा प्रभावकारी माध्यम उसको सांस्कृतिक सम्पदा र कलात्मक विरासत भएको धारणा व्यक्त गर्नुभयो ।

यसैगरी अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले संगीत केवल मनोरञ्जनको माध्यम नभई सामाजिक एकता, सहिष्णुता र राष्ट्रिय चेतनाको आधार भएको बताउनुभयो । उहाँले सांस्कृतिक चेतनाले विभाजन होइन, एकता निर्माण गर्ने उल्लेख गर्दै नवरस संगीत पाठशालाले आगामी दिनमा नेपाली समाजलाई भावनात्मक र सांस्कृतिक रूपमा जोड्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले भाषा र संस्कृति राष्ट्रको आत्मा भएको बताउनुभयो । उहाँले कुनै पनि समाजको सभ्यता, इतिहास र पहिचान कला तथा संस्कृतिमार्फत जीवित रहने उल्लेख गर्दै नाट्यकला, गायनकला र संगीतकलाले सांस्कृतिक संरक्षणको अभियानलाई सशक्त बनाउने धारणा व्यक्त गर्नुभयो ।

उहाँले सरकारले कला र संगीत क्षेत्रलाई संस्थागत विकास गर्ने उद्देश्यले स्थापना गरेका एकेडेमी तथा प्रतिष्ठानहरूको भूमिका सकारात्मक रहेको बताउँदै यस्ता संस्थाहरूलाई अझ प्रभावकारी र सशक्त बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमभर प्रस्तुत भएका सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरूले नेपाली कला परम्पराको जीवन्तता झल्काएका थिए । बालबालिका तथा युवा पुस्ताको उत्साहजनक सहभागिताले कला र संगीतप्रतिको आकर्षण अझै बलियो रहेको संकेत दिएको थियो ।

नवरस संगीत पाठशालाको ९औँ वार्षिकोत्सवले एउटा महत्वपूर्ण सन्देश दिएको छ, संगीत केवल ध्वनि होइन, सभ्यता हो, केवल मनोरञ्जन होइन, चेतना हो, केवल कला होइन, राष्ट्रको आत्मा हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय