काठमाडौं । राजधानी काठमाडौंलाई देशका विभिन्न क्षेत्रसँग जोड्ने अत्यन्त व्यस्त नागढुंगा–नौबिसे–मलेखु सडकखण्डमा रोकिएको कालोपत्रे कार्य पुनः सुरु भएको छ । निर्माण सामग्रीको अभाव र अन्तर्राष्ट्रिय आपूर्ति समस्याले प्रभावित भएको सडक विस्तार आयोजनाले पुनः गति लिन थालेपछि यात्रु, स्थानीयवासी र व्यवसायीहरूमा राहतको अनुभूति भएको छ ।
केही महिनायता सडक निर्माणका लागि अत्यावश्यक बिटुमिन (अलकत्रा) को अभाव हुँदा कालोपत्रे तथा पुल निर्माणसँग सम्बन्धित काम प्रभावित बनेको थियो । विशेषगरी मध्यपूर्व क्षेत्रमा बढ्दो अस्थिरता र अन्तर्राष्ट्रिय ढुवानी प्रणालीमा देखिएको अवरोधले नेपालमा निर्माण सामग्रीको आपूर्ति प्रभावित भएको सरोकारवालाहरूले बताएका छन् ।



निर्माण पक्षले हाल सीमित मात्रामा कच्चा पदार्थ उपलब्ध हुन थालेपछि अत्यधिक सवारी चाप हुने तथा सडक सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रहरूलाई प्राथमिकतामा राखेर कालोपत्रे कार्य अघि बढाइएको छ । मनसुन सुरु भएसँगै लगातारको वर्षाले सडक निर्माणमा थप चुनौती सिर्जना गरेको छ ।
नागढुंगा–नौबिसे–मलेखु सडक देशकै सबैभन्दा व्यस्त राजमार्ग खण्डमध्ये एक हो । दैनिक हजारौं सवारी साधन संचालन हुने यस मार्गमा निर्माण ढिलाई हुँदा यात्रुले धुलो, हिलो र जामको समस्या झेल्दै आएको छ ।
यसबीच सडक प्रयोगकर्ताहरूले निर्माणको गति बढाउँदै गुणस्तरीय काम सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।



