काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं.२ स्थित नागढुंगा युवा क्लबको वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्लबका अध्यक्ष दशराम कार्कीको अध्यक्षतामा सम्पन्न सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।

साथै आर्थिक वर्ष २०७३/०७४ देखि २०८१/०८२ सम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात तथा आय–व्यय विवरण सर्वसम्मत पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि साबिकका लेखापरीक्षक श्री ज्ञानबहादुर विष्ट (एस.बी. विष्ट एण्ड कम्पनी) लाई पुनः लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय समेत गरेको छ ।

यसैबीच, साधारण सभाले समिर सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवगठित कार्यसमितिले क्लबको संस्थागत सुदृढीकरण, युवाको नेतृत्व विकास, सामाजिक सेवामूलक गतिविधि र खेलकुद तथा सांस्कृतिक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं. २ कार्यबाहक अध्यक्ष चन्द्रकुमारी गिरी बस्नेतले क्लबका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै समाज सेवामा लाग्न आग्रह गर्नुभयो । उहाँले क्लबको संस्थागत विकास, युवाको सहभागिता अभिवृद्धि तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउन सुझाव दिँदै क्लबले गर्ने रचनात्मक कार्यमा वडा सदैव साथमा रहने प्रतिबद्धतासमेत जनाउनुभयो ।

साधारण सभामा जनप्रतिनिधि, क्बलका सदस्य, स्थानीय, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय