काठमाडौं । चन्द्रागिरि नगरपालिकामा निर्माणाधीन राष्ट्रिय गौरवको परियोजना नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग निर्माणमा स्थानीयले अवरोध गरेका छन् ।
चन्द्रागिरि नगरपालिका–२ का स्थानीयले सरकार, आयोजना र स्थानीयबीच भएको सम्झौता कार्यान्वयनमा उदासिनता देखाएको भन्दै विरोधमा उत्रिएका हुन् । उहाँहरुले सुरुङ मार्ग आयोजनाले खानेपानी व्यवस्थापनमा दीर्घकालीन व्यवस्था नगरेको, चर्किएका सम्पूर्ण घरहरुको क्षतिपूर्तिको माग, खेत योग्य जमीनमा सिंचाईको वैकल्किप व्यवस्था, योग्यता र क्षमताको आधारमा प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारीको माग, खानेपानीमा भएको अनियमितताको छानविनलगायतको माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।



प्ले–कार्डसहित टुटीपाखास्थित सुरुङ मार्गको आयोजना कार्यालय अगाडी स्थानीयले नाराबाजी गर्दै माग पुरा नभएसम्म आयोजनाको सम्पूर्ण काम रोक्न आग्रह समेत गरेका छन् ।



