मुगुको छायाँनाथ–रारा नगरपालिका–८ स्थित झ्यारी खोलामा आएको ठूलो पहिरोका कारण कर्णालीको प्रमुख सडक मार्ग नाग्मा–गमगढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबार बिहान आएको पहिरोले सडक अवरुद्ध भएपछि मुगु जाने र मुगुबाट बाहिरिने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

पहिरो ठूलो र सडकको अधिकांश भाग ढाकिने गरी खसेकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाइ भएको छ। पहिरो हटाउन सडक डिभिजन कार्यालयले सुरुमा सानो जेसीबी प्रयोग गरी प्रयास गरे पनि प्रभावकारी नभएपछि ठूलो क्षमताको मेसिन मगाउने तयारी गरेको जनाएको छ।

सडक डिभिजन कार्यालयका अनुसार पहिरो हटाउने काम सुरु भइसकेको भए पनि सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुईदेखि तीन दिन लाग्न सक्ने अनुमान गरिएको छ। लगातारको वर्षा र पहिरो खस्ने जोखिमका कारण काममा समेत कठिनाइ भइरहेको कार्यालयले जनाएको छ।

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री बोकेका मालवाहक सवारी, यात्रुवाहक बस, जीप तथा अन्य साना–ठूला सवारीसाधन दुवैतर्फ रोकिएका छन्। लामो दूरीबाट आएका यात्रुहरू बीच बाटोमै बस्न बाध्य भएका छन् भने मुगुका लागि आवश्यक खाद्यान्न, औषधि र अन्य सामग्रीको आपूर्ति प्रभावित भएको छ।

स्थानीय यात्रुहरूका अनुसार वर्षायाम सुरु भएसँगै नाग्मा–गमगढी सडकखण्डमा पहिरोको जोखिम बढ्ने गरेको छ। पटक–पटक सडक अवरुद्ध हुँदा स्थानीयवासी, व्यवसायी र यात्रुले सास्ती खेप्दै आएका छन्।

सडक डिभिजन कार्यालयले पहिरो हटाउने कामलाई तीव्रता दिइएको जनाएको छ। मौसममा सुधार आएमा सडक छिट्टै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको कार्यालयको भनाइ छ। तर, पहिरोको अवस्था हेर्दा पूर्ण रूपमा यातायात सञ्चालनमा आउन केही समय लाग्न सक्ने देखिएको छ।

नाग्मा–गमगढी सडक मुगुलाई कर्णाली राजमार्गसँग जोड्ने महत्वपूर्ण सडक हो। यही सडकबाट जिल्लामा खाद्यान्न, निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति हुने भएकाले लामो समय सडक बन्द हुँदा मुगुको जनजीवनमा प्रत्यक्ष असर पर्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय