काठमाडौं । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर–९ ले आफ्नो चुनावी गतिविधिलाई तीव्र बनाएको छ । नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्षतर्फकी उम्मेदवार महिला नेतृ नानु बास्तोला शिवाकोटीलाई विजयी गराउने उद्देश्यसहित काठमाडौं निर्वाचन क्षेत्र नम्बर–९ अन्तर्गत नागार्जुन नगरपालिका–७, हसनतारमा निर्वाचन प्रचार–प्रसार परिचालन समिति सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो ।
उम्मेदवार नानु बास्तोला शिवाकोटीले आफू जनताको विश्वास र अपेक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताउँदै काठमाडौं–९ का मतदातासँग सहयोग, समर्थन र विश्वासको अपिल गर्नुभयो । उहाँले लोकतन्त्र, संविधानको रक्षा, समावेशी विकास र सुशासनका लागि नेपाली कांग्रेसको जित अपरिहार्य रहेको उल्लेख गर्दै सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर चुनावी अभियानमा सक्रिय हुन आग्रह गर्नुभयो । उहाँले विभिन्न स्थानमा क्रियाशील सदस्यहरूसँग भेटघाट, छलफलको क्रममा कांग्रेसप्रति जनसमर्थन बढ्दै गएको प्रतिक्रिया समेत दिनुभयो ।



कार्यक्रममा स्थानीय तहमा पार्टी संगठन सुदृढीकरण, आगामी निर्वाचन रणनीति, घरदैलो अभियान तथा मतदाता पहुँच विस्तारका विषयमा विस्तृत छलफल र अन्तरक्रिया गरिएको निर्वाचन प्रचार–प्रसार परिचालन समितिले जनाएको छ । उद्घाटन कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।



