काठमाडौं । वीरगञ्ज महानगरपालिकास्थित रेशमकोठी क्षेत्रमा रहेको त्रिभुवन हनुमान मन्दिर नजिक निर्माणाधीन भवनमा काम गर्ने क्रममा पिलर÷बाल खस्दा एक महिला मजदुर गम्भीर घाइते भएकी छन् ।
निर्माणाधीन संरचनाको पिलर बाल अचानक खस्दा त्यहाँ काम गरिरहेकी महिला मजदुर च्यापिएको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटनापछि स्थानीयवासी तथा सहकर्मी मजदुरहरूले घाइते महिलालाई तत्काल उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पठाएका थिए ।



घटनामा महिलाको मृत्यु भएको चर्चा भएपनि समाचार तयार पार्दासम्म त्यसबारे प्रहरी वा अस्पताल स्रोतबाट आधिकारिक पुष्टि हुन सकेको छैन । घाइते महिलाको पहिचान पनि सार्वजनिक गरिएको छैन ।
घटनापछि निर्माणस्थलमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो । स्थानीयवासीले निर्माण कार्यमा सुरक्षा सतर्कता अपनाउनुपर्ने माग गरेका छन् । उनीहरूले निर्माणस्थलमा काम गर्ने मजदुरका लागि हेल्मेट, सुरक्षा बेल्टलगायत आवश्यक सुरक्षाका साधन अनिवार्य गर्नुपर्ने बताएका छन् ।
प्रहरीले घटनाबारे जानकारी प्राप्त भएपछि टोली परिचालन गरिएको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा निर्माणाधीन संरचनाको भाग कमजोर भएर खसेको हुन सक्ने आशंका गरिएको छ । यद्यपि घटनाको वास्तविक कारण खुल्न प्राविधिक जाँच आवश्यक रहेको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको तथा घाइते महिलाको अवस्था सम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।



