काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका सिलसिलामा धनगढीमा निर्वाचन आचारसंहिताका विषयमा छलफल भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वपक्षीय सर्वदलीय बैठकमा निर्वाचन आचारसंहिता–२०८२ का साथै मनोनयनपत्र दर्ता गराउँदा अपनाउनुपर्ने प्रक्रिया, शान्तिसुरक्षाको व्यवस्थापनलगायत विषयमा छलफल भएको हो ।
सो अवसरमा कैलाली जिल्ला निर्वाचन क्षेत्र नं. ५ का मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश भुवनसिंह थापाले निर्वाचन प्रजातन्त्रको मेरुदण्ड भएकाले यसलाई निष्पक्ष, स्वच्छ, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन सबैले आ–आफ्नो तहबाट योगदान गर्नुपर्ने बताउनुभयो ।



प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचन आचारसंहिताको सबैले अक्षरशःपालन गरेमा सुरक्षा व्यवस्थापन पनि सुदृढ पार्न मद्दत पुग्ने बताउनुभयो ।
बैठकमा सहायक निर्वाचन अधिकृत चेतराज पन्त र प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले पनि निर्वाचनको तयारीकाबारेमा प्रकाश पार्नुभयो । विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिलगायतको सहभागिता थियो ।



