काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गर्न झापामा सुरक्षा तयारी तीव्र पारिएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाभरका मतदानस्थलको जोखिम मूल्यांकन गरी तीन तहमा वर्गीकरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले जिल्लामा रहेका २८५ मतदानस्थलमध्ये ९५ वटा अतिसंवेदनशील, १४७ वटा संवेदनशील र ४३ वटा सामान्य श्रेणीमा राखिएका छन् । जिल्लामा कुल ८१५ मतदान केन्द्र रहेका छन् । मतदानस्थलको संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन, निगरानी र गस्ती व्यवस्थापन गरिने प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त परिचालन गरिने र आवश्यकता अनुसार थप सुरक्षाकर्मी परिचालन गर्नसमेत तयारी गरिएको बताउनुभयो ।

उहाँले विगतका निर्वाचन अनुभवका आधारमा निर्वाचन क्षेत्र नम्बर ५ मा सुरक्षा चुनौती बढी देखिएकाले प्रदेश सरकारसँग थप सुरक्षाकर्मी माग गरिएको छ । झापामा पाँच वटा निर्वाचन क्षेत्र रहेका छन् । यस निर्वाचनमार्फत जिल्लाबाट पाँच जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन् । निर्वाचन आयोगका अनुसार झापामा कुल ७ लाख १३ हजार ५३७ जना मतदाता रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले मतदाताले निर्धक्क भएर मतदान गर्न सक्ने वातावरण बनाउन सुरक्षा निकायबीच समन्वय सुदृढ बनाइएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय