काठमाडौं । चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले हरेक निर्वाचनमा आचारसंहिता जारी गर्छ । तर, आचारसंहिता कडाइका साथ लागू गर्न नसकेको आरोप लागिरहन्छ । यसपटक भने निर्वाचन आयोगले आचारसंहिता कडाइका साथ लागु गर्ने र उल्लंघन गरे कारबाही गर्ने गरी काम थालेको छ । कसरी हुन्छ आचारसंहिता उल्लंघन्, के कारबाही हुन्छ ?



निर्वाचनको समयमा प्रविधिको दुरुपयोग बढ्ने जोखिमलाई मध्यनजर गर्दै निर्वाचन आयोगले यसपटक आचारसंहितामा कडाइ गर्ने भएको छ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिदै जाँदा अहिले डिपफेक, दुष्प्रचार र साइबर बुलिङका घटनामा वृद्धि भएका छन् । पछिल्लो समय कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग गरेर नेताहरूको आवाज वा भिडियो बिगार्ने र भ्रामक सन्देश फैलाउने क्रम बढ्दो छ । विपक्षी उम्मेदवारको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा प्रायोजित पोस्टहरू गरेर दुष्प्रचार भइरहेका छन् । मतदातालाई मनोवैज्ञानिक प्रभाव पार्न गलत तथ्याङ्क प्रस्तुत गर्ने जस्ता साइबर बुलिङका घटनासमेत प्रशस्तै भेटिन्छन् । यस्ता नक्कली समाचार र प्रचार–प्रसारका बारेमा सचेतता नहुँदा धेरैजसो नागरिक प्रभावित हुन सक्छन् । निर्वाचन आयोगले यस्ता घटना प्रति चनाखो हुँदै छुट्टै डेस्क नै खडा गरेर निगरानीको काम गरिरहेको छ ।
आयोगले सामाजिक सञ्जालका सञ्चालकहरूसँग समन्वय गरी निर्वाचन विरोधी र भ्रामक सामग्रीहरू तत्काल हटाउने संयन्त्र तयार पारेको छ । एआईको प्रयोग गरेर कसैको अपमान वा मिथ्या सूचना फैलाएको भेटिएमा, साइबर कानुन र निर्वाचन ऐन दुवै अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइने निर्वाचन आयोगले जनाएको छ । आयोगले फेसबुक, ट्विटर, युट्यूब र अन्य सामाजिक सञ्जाल प्लेटफर्मसँग समन्वय गरी यस प्रकारका गतिविधि रोक्ने प्रयास गरेको छ । आचारसंहितालाई प्रभावकारी रूपमा लागू गर्न सामाजिक सञ्जाल र एआईको दुरुपयोगको रोकथाम अनिवार्य छ। निर्वाचनको स्वच्छता र निष्पक्षताका लागि आचारसंहिता कार्यान्वयन प्रभावकारी बनाउन आयोगले सबै पक्षसँग थप सहकार्य पनि गरिरहेको छ ।



