काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र सरकार ढाल्ने खेलमा नलाग्ने स्पष्ट पार्दै, सत्ता गठबन्धनलाई बेथितितिर नजान सचेत गराउनुभएको छ । आज माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभामा बोल्दै अध्यक्ष प्रचण्डले गणतन्त्रको रक्षा र सुधारका लागि आन्दोलनको घोषणा गरेको बताउनुभएको हो । अध्यक्ष प्रचण्डले सरकार ढल्ने डरको कारण सत्ता गठबन्धन दलहरूबाट राजनीतिक अस्थिरता फैलाउने काम भइरहेको टिप्पणी गर्नुभयो । यो खबरदारी सरकार परिवर्तनको लागि नभइ गणतन्त्रको रक्षा र भ्रष्टाचारको अन्त्यका लागि भएको उहाँको तर्क थियो ।
अध्यक्ष प्रचण्डले विगतमा नेपाली कांग्रेस र एमालेसँग गरिएको सहकार्यलाई गल्ती ठहराउँदै, माओवादीले गम्भीर आत्मसमीक्षा गरेको दावी गर्नुभयो । प्रधानमन्त्री या मन्त्री बनाइदिनुस् भनेर समीकरणको खोजीमा नभएको स्पष्ट पार्दै प्रचण्डले कांग्रेस र एमालेसँग सहकार्य गर्दा माओवादी पनि दलाल र भ्रष्ट प्रवृत्तितिर जाने त्रास देखिएको उहाँको तर्क छ । अध्यक्ष प्रचण्डले संविधान संशोधनको नाममा कांग्रेस र एमालेले भ्रष्टाचारलाई बचाउने उद्देश्य राखेको आरोप लगाउनुभयो । उहाँले २०८४ को चुनाव माओवादीले एक्लै लड्ने प्रतिबद्धता जनाउनुभयो । सभामा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि सरकारको कडा आलोचना गर्दै, कानुनी शासनको उल्लंघन भएको र भ्रष्टाचारविरुद्धको कारबाही निष्पक्ष ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।






