भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपाल र भारतका प्रधानमन्त्रीबीच नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदनबारे छलफल नै नभएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा विदेश सचिव क्वात्राले व्यक्तिगत स्तरमा र त्यसपछि द्विपक्षीय प्रतिनिधिमण्डलबीच भएको बैठकमा ती विषयहरू नउठेको बताएका हुन् ।
ईपीजीले सहमतिमा तयार पारेको रिपोर्ट पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने र त्यसपछि नेपालका प्रधानमन्त्रीले बुझ्ने सहमति छ । तर भारतीय प्रधानमन्त्रीले ईपीजी प्रतिवेदन अहिलेसम्म बुझेका छैनन् । विदेश सचिव क्वात्राले भारतको संसद्मा भर्खरै राखिएको ‘अखण्ड भारत’को नक्साको बारेमा पनि दुई प्रधानमन्त्रीबीचमा छलफल नभएको जानकारी गराए ।






