काठमाडौंमा पशुपतिनाथदेखि देशभरका शिवालयसम्म हरितालिका तीजको रौनक छाएको बेला हजारौँ किलोमिटर टाढा अस्ट्रेलियामा रहेका नेपाली दिदीबहिनीहरू पनि आफ्नै मौलिक संस्कृति र परम्परामा रमाइरहेका छन्।
नेपालमा व्रतालुहरू बिहानैदेखि शिवालयमा पुगेका छन् भने अस्ट्रेलियाका विभिन्न शहरमा रहेका नेपाली महिलाहरू रातो साडी, चुरा र पोतेमा सजिएर तीजका गीतमा छमछमी नाचेका छन्। विदेशको व्यस्त जीवनबीच एकै ठाउँमा भेला भएर गीत गाउने, नाच्ने, दर खाने र शुभकामना साटासाट गर्ने क्रमले अस्ट्रेलियाका नेपाली समुदायमा पनि तीजको छुट्टै रौनक थपेको छ।सिड्नी, मेलबर्न, ब्रिसबेन, एडिलेड, पर्थलगायतका शहरमा नेपाली समुदाय तथा महिला संघसंस्थाहरूले तीजका विभिन्न कार्यक्रम आयोजना गरेका छन्। अस्ट्रेलियामा तीजसम्बन्धी कार्यक्रमहरूमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमसँगै संगीत, नृत्य, सामुदायिक भेटघाट र महिला सहभागितालाई विशेष प्राथमिकता दिइएको देखिन्छ।



सिड्नीमा तीजसँगै सामाजिक सन्देश
सिड्नीमा डिडीबहिनी विमेन्स नेटवर्क अस्ट्रेलियाले यस वर्षको तीजलाई केवल रमाइलो र भेटघाटमा सीमित नराखी स्वास्थ्य, कल्याण र सामाजिक चेतनासँग जोडेर मनाएको छ। ‘Celebrate Teej with Purpose’ भन्ने भावनासहित ग्रानभिल टाउन हलमा कार्यक्रम आयोजना गरिएको थियो। यस्ता कार्यक्रमले विदेशमा रहेका नेपाली महिलालाई आफ्ना साथीभाइ तथा आफन्तसँग भेट्ने अवसर मात्र दिएको छैन, समुदायभित्रका महिला र परिवारसँग सम्बन्धित विषयमा संवाद गर्ने थलोसमेत दिएको छ।
मेलबर्नमा रातो साडीमा सजिए नेपाली चेलीहरू
मेलबर्नमा पनि नेपाली संघसंस्था र महिला समूहको आयोजनामा तीजका कार्यक्रम भएका छन्। इपिङ मेमोरियल हलमा आयोजित तीज कार्यक्रममा नेपाली कलाकारहरूको प्रस्तुति, नेपाली खाना, नृत्य तथा पारिवारिक मनोरञ्जनसँगै नेपाली महिलाको योगदानको सम्मानसमेत गरिएको थियो। कार्यक्रममा सहभागी महिलाहरू रातो पहिरनमा सजिएर तीजका गीतमा नाचे। कतिपयका लागि यो आफ्नै गाउँघर, माइती र दिदीबहिनी सम्झाउने अवसर बन्यो भने नयाँ पुस्ताका लागि नेपाली संस्कृति चिन्ने र सिक्ने अवसर।
ब्रिसबेनमा पार्कमै तीजको जमघट
ब्रिसबेनमा पनि नेपाली महिलाहरूको सहभागितामा तीज विशेष कार्यक्रम आयोजना गरिएको छ। क्विन्सल्यान्ड नेपालीज कल्चरल सेन्टरको आयोजनामा सेभेन्थ ब्रिगेड पार्कमा तीज महोत्सव गरिएको थियो। कार्यक्रममा नेपाली महिलाहरू भेला भएर संस्कृति, गीत, नृत्य र सामुदायिक सम्बन्धलाई जोड दिएका थिए। विदेशी भूमिमा पार्क र सामुदायिक स्थलमा रातो पहिरनमा नेपाली महिलाहरूको बाक्लो उपस्थिति देखिँदा केही समयका लागि अस्ट्रेलियाकै भूमिमा नेपाल झल्किने वातावरण बनेको थियो।
पर्थदेखि एडिलेडसम्म उस्तै उत्साह
पर्थ र एडिलेडमा पनि नेपाली समुदायले तीजलाई सामूहिक रूपमा मनाएका छन्। एडिलेडमा तीजसम्बन्धी कार्यक्रमहरूमा पूजा, गीत, नृत्य र सामुदायिक भोज आयोजना गरिएको विवरण छ भने पर्थमा पनि नेपाली महिलाहरूको सांस्कृतिक सहभागितालाई केन्द्रमा राखेर तीज मनाइएको छ। अस्ट्रेलियामा रहेका नेपाली महिलाहरूका लागि तीज अब केवल धार्मिक पर्व मात्र रहेन। यो आफ्नै भाषा, पहिरन, गीत–संगीत र परम्परासँग जोडिने अवसर पनि बनेको छ। व्यस्त कामकाजी जीवनबाट केही समय निकालेर दिदीबहिनीहरू एकै ठाउँमा भेला हुनु, पुराना तीजका गीत सम्झनु र नयाँ पुस्तालाई त्यसको अर्थ बुझाउनु यस पर्वको महत्वपूर्ण पक्ष बनेको छ।
दुःखमा नेपाल सम्झँदै तीज
यस वर्ष नेपालमा आएको बाढीपहिरो र त्यसबाट भएको जनधनको क्षतिले विदेशमा रहेका नेपालीहरूको मन पनि छोएको छ। त्यसैले अस्ट्रेलियाका केही नेपाली समुदायले तीजलाई सहयोग र ऐक्यबद्धतासँग समेत जोडेर मनाएका छन्। अस्ट्रेलियन नेपालीज कम्युनिटी क्लबले तीजको कार्यक्रमलाई बाढी प्रभावित नेपालीका लागि च्यारिटी डिनर तथा फन्डरेजिङ कार्यक्रममा रूपान्तरण गरेको जनाएको छ। कार्यक्रममा सहभागीहरूले नेपालमा विपद्बाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सहयोग जुटाएका थिए। देश बाहिरको भूमिमा मनाइएको यो तीजले एउटा सन्देश पनि दिएको छ—भूगोलले नेपालीलाई नेपालबाट टाढा बनाउन सक्छ, तर आफ्नो संस्कृति र चाडपर्वबाट टाढा बनाउन सक्दैन।



