एमनेस्टी इन्टरनेसनलले नेपालमा मानव अधिकारको अवस्था झन् खस्किएको बताएको छ । विश्व मानवअधिकारको प्रतिवेदन सार्वजनिक गर्दै एमनेस्टी इन्टरनेसनलले विश्वव्यापी रूपमै ८० बर्ष बढी लगाएर प्राप्त गरेको समानता, न्याय र मर्यादाका उपलब्धि खतरामा परेको उल्लेख छ । यसको असर नेपालमा पनि परेको जनाएको छ । एमनेस्टी इन्टरनेसनलको नेपालका निर्देशक निराजन थपलियाले प्रदर्शनकारीहरूमाथि प्रतिबन्ध लगाएर, गैरकानुनी बल प्रयोग गरेर र प्रदर्शनकारीहरूलाई बलपूर्वक तितरबितर पार्ने र हिरासतमा लिने कार्य गरेर सरकारले नै आलोचनालाई दबाउने प्रवृत्ति बढेको बताउनुभयो ।



प्रतिवेदनले विश्वमा अधिनायकवादी अभ्यासको फैलावटले विमति राख्नेमाथि निर्मम दमन भैरहेको भन्दै सशस्त्र द्वन्द्वको विनाशकारी विस्तार र अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लंघन बढ्नु गंभीर चिन्ता भएको उल्लेख गरेको हो । प्रतिवेदनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प नेतृत्वको अमेरिकी सरकारले विश्वमा विद्यमान हानिकारक प्रवृत्तिलाई थप तीव्र बनाइरहेको दाबी गरिएको छ । ‘प्रतिवेदनमा अन्तर्राष्ट्रिय कानून र विश्वव्यापी मानवअधिकारमाथि चुलिँदै गएको चरम आक्रमणलाई सामना गर्न आफूलाई दृढ र कठोर बनाउनै पर्नेमा जोड दिएको छ ।



