काठमाडौं । कलंकी–नागढुंगा सडकखण्डअन्तर्गत चन्द्रागिरि नगरपालिका–नैकाप क्षेत्रमा पैदलयात्रीको सुरक्षित आवतजावत सुनिश्चित गर्न स्मार्ट ‘पेलिकन’ ट्राफिक बत्ती जडान गरिने भएको छ । यसका लागि चन्द्रागिरि नगरपालिका र ब्राइट फ्युचर माध्यमिक विद्यालयबीच सहकार्यसम्बन्धी समझदारी भएको छ ।
समझदारीपत्रमा नगरप्रमुख घनश्याम गिरी र विद्यालयका प्रधानाध्यापक दयाराम थापाले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार ट्राफिक बत्ती जडानका लागि आवश्यक सम्पूर्ण लागत विद्यालयले व्यहोर्नेछ भने यसको सञ्चालन, मर्मत तथा व्यवस्थापन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्नेछ ।



जडान गरिने स्मार्ट पेलिकन प्रणालीले पैदलयात्रीको आवश्यकता अनुसार मात्रै सवारीसाधनलाई रोक्नेछ । पैदलयात्रीले बटन थिचेपछि वा सेन्सरले उनीहरूको उपस्थितिको संकेत गरेपछि ट्राफिक संकेत रातो हुने व्यवस्था रहनेछ । यसबाट पैदलयात्रीले सुरक्षित रूपमा सडक पार गर्न सहज हुने र अनावश्यक रूपमा सवारीसाधन रोकिनु नपर्ने भएकाले ट्राफिक व्यवस्थापनसमेत थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
नगरपालिकाले विद्यालय आसपासको सडकलाई अझ सुरक्षित बनाउने, विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दाको आवतजावतलाई सहज बनाउने र निजी क्षेत्रको सामाजिक उत्तरदायित्वमार्फत सार्वजनिक पूर्वाधार विकासमा सहकार्यको नयाँ अभ्यास स्थापित गर्ने उद्देश्यका साथ यो योजना अघि बढाइएको जनाएको छ ।
केही दिनअघि ब्राइट फ्युचर माध्यमिक विद्यालयका विद्यार्थीहरूले नगरपालिकामा भएको ‘विद्यार्थीसँग मेयर’ कार्यक्रममा मुख्य सडकसँग जोडिएको विद्यालय क्षेत्रमा पर्याप्त ट्राफिक व्यवस्थापन नहुँदा दैनिक जोखिम मोलेर सडक पार गर्नुपर्ने अवस्था रहेको भन्दै विद्यालय क्षेत्रको सडक सुरक्षालाई प्राथमिकतामा राख्दै ट्राफिक बत्ती जडानका लागि नगरपालिकाले आवश्यक पहल गर्न आग्रह गरेका थिए ।
विद्यार्थीको यही सुझावलाई मध्यनजर गर्दै नगरपालिका र विद्यालयबीच ट्राफिक बत्ती जडान गर्न सहकार्यको वातावरण बनेको हो । सम्बन्धित पक्षहरूले यो प्रणाली सञ्चालनमा आएपछि विद्यालय क्षेत्रको सडक सुरक्षा थप सुदृढ हुनुका साथै आधुनिक प्रविधिमार्फत ट्राफिक व्यवस्थापनमा समेत सकारात्मक सुधार आउने विश्वास व्यक्त गरेका छन् ।



