सरकारले पर्यटन क्षेत्रको समृद्धि र दिगो विकासलाई लक्ष्य बनाएर ‘पर्यटन नीति २०८२’ सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०६५ सालको पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै आज नयाँ नीति सार्वजनिक गरेको हो। समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संविधानको मर्मअनुसार नीति तयार पारिएको बताउनुभयो।



उहाँले छिट्टै संस्कृति नीति र हवाई नीति पनि ल्याइने जानकारी दिनुभयो। मन्त्री पाण्डेले पर्यटन नीतिलाई कानुनी रूपमा बलियो बनाउने गरी आवश्यक ऐन, नियमावली र कार्यविधि निर्माणको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेकाले नयाँ नीतिले निजी क्षेत्रलाई विशेष प्राथमिकता दिइएको उहाँको दावी छ ।
मन्त्रालयका अनुसार अद्वितीय पर्यटकीय गन्तव्य स् नेपाल भन्ने नारालाई नीति संरचनाको दृष्टिकोणमा समावेश गरिएको छ। नेपाललाई आकर्षक जीवनपर्यन्त अनुभव, सुरक्षित, भरपर्दो र दिगो गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यसहित नीति ल्याइएको हो। यो नीतिले विगतमा नीतिगत अस्पष्टता र ढिलासुस्तीका कारण आएको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ। सरकारले नयाँ नीतिलाई राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक टेवा पुर्याउने दस्तावेजका रूपमा प्रस्तुत गर्दै निजी–सार्वजनिक सहकार्यलाई मार्गदर्शन गर्ने मुख्य आधार बनाएको छ।



