काठमाडौं । भारतमा निपाह भाइरस संक्रमण फेरि देखिएको छ । पश्चिम बंगालमा पुष्टि भएको यो संक्रमणपछि नेपाल पनि उच्च जोखिमको सूचीमा परेको छ । खुला सीमा, दैनिक आवागमन र चुनावी भीडका कारण खतरा अझ बढेको भन्दै स्वास्थ्य अधिकारीहरूले निगरानी बढाएका छन् । के हो निपाहा भाइरस ? कस्तो छ नेपालमा जोखिम ?



विश्वमा सन् १९८९ देखि निपाह भाइरस देखिन थालेको हो । पहिलो संक्रमण मलेसिया र सिंगापुरमा सुँगुर पाल्ने किसानमा भेटिएको थियो । त्यसपछि सन् २००१ यता भारत र बंगलादेशमा पटक पटक प्रकोप देखिँदै आएको छ । त्यहाँ संक्रमितमध्ये ठूलो संख्यामा मृत्यु हुने गरेको तथ्यांक छ । अहिले भारतको पश्चिम बंगालमा संक्रमण पुष्टि भएपछि नेपाल सरकारले पनि सतर्कता बढाएको छ । नेपाल–भारत सीमा नाका, विमानस्थल र सबै प्रवेश बिन्दुमा स्वास्थ्य जाँच र निगरानी कडा गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले निपाह भाइरसलाई उच्च जोखिमयुक्त रोगको सूचीमा राखेको छ । यो भाइरसको संक्रमण हुँदा सुरुमा ज्वरो, टाउको दुखाइ र रुघाखोकीजस्ता सामान्य लक्षण देखिन्छन् । पछि श्वासप्रश्वासमा समस्या, बेहोस हुने र मस्तिष्कमा असर देखिन सक्छ । विश्व तथ्यांकअनुसार संक्रमितमध्ये करिब एक तिहाइको मृत्यु हुन्छ । भारत र बंगलादेशमा भने मृत्यु दर ८५ प्रतिशतसम्म पुगेको छ । चुनावी सभा, ¥याली र सार्वजनिक भीडले संक्रमण फैलिने जोखिम बढाउने चिकित्सकहरू बताउँछन् । यो भाइरसको मुख्य स्रोत चमेरा हो । सुँगुरमार्फत पनि मानिसमा सर्छ । संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा पनि फैलिन सक्छ ।
सतर्कता नै बच्ने उपाय हो । त्यसैले चमेरा, सुँगुर वा जंगली जनावरसँग प्रत्यक्ष सम्पर्क नगर्ने, काँचो वा भुइँमा झरेको फल नखाने, फलफूल राम्रोसँग धोएर मात्र खाने, ज्वरो वा श्वाससम्बन्धी समस्या देखिए तुरुन्त स्वास्थ्य परीक्षण गराउने, भीडभाडमा मास्क र सरसफाइ अपनाउन चिकित्सकको सुझाव छ । योसँगै संक्रमित मुलुकबाट आएकालाई आफै क्वारेन्टीनमा बस्न चिकित्सक सुझाउछन् ।
निपाहा भाइरस अहिलेसम्म नेपालमा पुष्टि भएको छैन । तर जोखिम कायमै छ । समयमै सचेत नभए अवस्था गम्भीर हुन सक्छ । सरकारले निगरानी बढाएको छ । चिकित्सकहरूले सतर्क रहन आग्रह गरेका छन् । अब जोखिम कम गर्ने जिम्मेवारी हामी सबैको हो ।



