काठमाडौं । सोमबार साँझदेखि पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड मंगलबार बिहान १०ः३० बजेदेखि सञ्चालनमा आएको छ ।
सडकखण्डको तुइनखोलालगायत विभिन्न स्थानमा पहिरो र लेदो खस्दा सडक अवरुद्ध भएको थियो । सडकमा खसेको पहिरो तथा लेदो हटाएपछि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरीका अनुसार निरन्तर वर्षा भइरहेकाले सडकका विभिन्न स्थानमा पुनः पहिरो खस्ने जोखिम कायमै छ । यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाई सुरक्षित रूपमा यात्रा गर्न तथा मौसम र सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह समेत गरेको छ ।



सोमबारदेखि सडकमा रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन थालिएको पनि प्रहरीले जनाएको छ ।



