भारी वर्षाका कारण गएको पहिरोले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिका–८ भुनीबामा शनिबार राति करिब ८ बजेदेखि खसेको भीषण पहिरोका कारण करिडोरअन्तर्गत बागलुङ–गुल्मी सडकखण्ड पूर्ण रूपमा बन्द भएको हो।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार रातिदेखि नै निरन्तर पहिरो खसिरहेकाले तत्काल सडक सञ्चालन गर्न सकिने अवस्था छैन। पहिरोसँगै ठूला चट्टान, रुख र ठूलो परिमाणमा माटो सडकमा थुप्रिएकाले सडक खुलाउन समय लाग्ने उहाँले बताउनुभयो।

पहिरोका कारण दक्षिण बागलुङतर्फ सञ्चालन हुने सवारी साधन पूर्ण रूपमा रोकिएका छन्। साथै मुक्तिनाथ दर्शनका लागि आउने–जाने भारतीय पर्यटक पनि बाटोमै अलपत्र परेका छन्। उनीहरूलाई वैकल्पिक मार्ग प्रयोग गरेर यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।

शनिबार रातिदेखि नै सडक खुलाउने प्रयास गरिए पनि निरन्तर वर्षाका कारण सफल हुन नसकेको उपप्रमुख शर्माले जानकारी दिनुभयो। आइतबार बिहान नगरपालिकाले जेसीबी परिचालन गरे पनि पहिरो हटाउने काम प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन। मौसममा सुधार आएपछि सडक खुलाउने कामलाई तीव्रता दिइने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय