काठमाडौं । कर्णाली राजमार्ग र चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
कर्णाली राजमार्गको गगनेखोला क्षेत्रमा यसअघि पनि पटकपटक पहिरो गई राजमार्ग अवरुद्ध हुँदै आएको छ । अविरल वर्षाले खसेको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको र पहिरो पन्छाउन समय लाग्ने जुम्ला सडक डिभिजन कार्यालयले जनाएको छ ।



त्यसैगरी नारायणगढ–मुग्लिन सडकखण्ड पनि पहिरोले अवरुद्ध भएको छ । मङ्गलबार साँझ पौने ९ बजे इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । सडकखण्डमा पहिरो पन्छाएर केही सवारीसाधन पार गराएपछि पुनः पहिरो खसेर सडक अबरुद्ध भएको थियो । एउटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।
साथै सोही सडक खण्डअन्तरगत इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुलमा सडकमाथिबाट ढुंगा खसेर लाग्दा बसमा सवार लमजुङ घलेगाउँकी ४६ वर्षीय ऐश्वर्य कामीको मृत्युभएको थियो ।
यस्तै पृथ्वी राजमार्गको घोप्टे भिरमा पनि पहिरो जाँदा सडक एकतर्फी भएको छ । नारायणगढ मुग्लिन सडकखण्डकै नाम्सी खोलामा खसेको पहिरो पन्छाएर सडक दुइतर्फी सञ्चालनमा ल्याइएको छ ।



