निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी आंशिक रूपमा थुनिएको छ। पोखरा महानगरपालिका–१५ र १७ को सीमास्थित रातोपैह्रो क्षेत्रमा नदी कटानपछि खसेको पहिरोले पानीको प्राकृतिक बहाव प्रभावित भएको हो।

पहिरो खसेपछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलगायतको टोलीले आइतबार बिहान घटनास्थलको निरीक्षण गरेको छ।

पहिरोले नदीको निकास पूर्ण रूपमा खुल्न नसक्दा थुनिएको भागभन्दा माथिल्लो क्षेत्रमा पानीको सतह बढेको छ। पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङका अनुसार पहिरोले थुनिएको स्थानभन्दा माथि नदीको सतह करिब ५० मिटर बढेको छ।

नदी थुनिएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन र सम्बन्धित निकायले अवस्थाको निगरानी गरिरहेका छन्। पहिरो हटाउने र पानीको बहाव सहज बनाउने विषयमा आवश्यक पहल भइरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय