गर्मीका कारण पानीको श्रोतहरु सुकेपछि विगत केही दिनदेखि सर्लाही जिल्लामा खानेपानीको हाहाकार मच्चिएको छ । जिल्लाको पुर्वि क्षेत्र पर्सा गाउँपालिकादेखि पश्चिम बागमती किनारको बलरा नगरपालिकासम्मका क्षेत्रका नदी नाला, कुवा, इनार, चापाकलहरु सुकेपछि खानेपानीको हाहाकार हुनुका साथै सिंचाईको समेत अभाव भएको हो ।

चर्को गर्मीका कारण मुहानहरु सुकेपछि सर्लाहीका अधिकांश स्थानमा खानेपानीको हाहाकार भएको छ । खानेपानी मात्र नभई रोपाइँको समयमा नदि, नाला, पोखरी, तलाउ र नहरमा पानी सुक्दा केही हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको छ । खानेपानी र सिंचाईको चरम अभाव हुँदा पनि संघीय, प्रदेश र स्थानीय सरकारले ठोस कदम नचालेपछि स्थानीय आक्रोशित भएका छन् । जिल्ला समन्वय समितिले भने सर्लाहीलाई सुख्खा क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेको छ ।

खानेपानीका लागि डिप बोरिङ, सिंचाइको लागि ठुला–ठुला नदिको डाइभर्जन लगायतका बैकल्पिक काम अबिलम्ब सुचारु नगरिए मधेश प्रदेश छिट्टै मरभुमीमा परिणत हुनसक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । सर्लाहीसहित मधेशभर देखिएको सुखापन, गर्मी र खानेपानीको समस्या समाधानका लागि नदि नालाको किनारा लगायतका खाली स्थानमा बृक्षारोपण कार्यक्रम अविलम्ब शुरु गर्नुपर्ने सरोकारवाला बताउँछन् ।

सदरमुकाम मलंगवासहितका आधा दर्जन पालिकाहरूमा चापाकल पुर्णरूपमा सुखेपछि खानेपानीको समस्या भयावह बनेको हो । जमिनमा पानीको स्तर घटेर मोटरले समेत नतान्ने अवस्था आएपछि शहरी क्षेत्रका स्थानीय बढी मारमा परेका छन् । यस वर्ष मनसुन शुरु भएको लामो समयसम्म पनि पानी नपर्दा समस्या निम्तिएको हो । खानेपानीको अभाव भएपछि सदरमुकाम मलंगवाको खानेपानी कार्यालयमा सरकारी धारा जडानका लागि अहिले दैनिक एक दर्जनको हाराहारीमा निवेदन पर्न थालेको छ ।

चुरे बिनास, सडकसहित घर आसपासका चौतारा लगायतका स्थानमा समेत विकासको नाममा ढलान हुनु लगायतका कारणले पानीको समस्या उत्पन्न हो । तसर्थ समस्या समाधानका लागि स्थानीयदेखि सरोकारवाला सबै पक्षले गम्भीर भएर बृक्षारोपण, डिप बोरिङ लगायतका कार्यक्रम थाल्न जरुरी देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय