भूकम्पपछि पुनर्निर्माण सम्पन्न गरी प्रधानमन्त्री कार्यालयका रूपमा सञ्चालनमा आएको सिंहदरबार मंगलबार फेरि आगजनीको शिकार भएको छ। सोमबारको आन्दोलनमा भएको बल प्रयोगबाट १९ नागरिकको मृत्यु भएपछि आक्रोशित युवाहरूको भीड सिंहदरबारतर्फ धकेलिँदा यो घटना घटेको हो। सिंहदरबार नेपालकै प्रमुख प्रशासनिक केन्द्रको रूपमा चिनिन्छ। सन् १९०४ मा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले व्यक्तिगत रूपमा २५ लाख खर्च गरेर निर्माण गरेका थिए। पछि उनले भवन सरकारलाई बेचेपछि यसलाई देशको राजनीतिक–प्रशासनिक केन्द्रका रूपमा प्रयोग गरिँदै आएको हो। तर यो दरबार २०३० सालमा भीषण आगलागीमा परेको थियो। त्यसपछिका दशकमा भाग–भागमा पुनर्निर्माण हुँदै आएको यो दरबार हालै मात्र सम्पूर्ण रूपमा पुनः सञ्चालनमा आएको थियो।
मंगलबार दिउँसो, आक्रोशित युवाहरूको ठूलो समूह सिंहदरबारतर्फ पुगेको थियो। पश्चिम गेटमा सुरक्षाका लागि खटिएका नेपाली सेनाले पहिलो चरणमा उनीहरूलाई रोके पनि, केही प्रदर्शनकारीले गेट नजिकैको एक कोठामा आगो लगाइदिए। त्यसपछि अर्को समूह बलपूर्वक गेट हुँदै सिंहदरबारभित्र प्रवेश गर्न सफल भयो। सेनाले रोक्ने प्रयास गरे पनि भीड नियन्त्रण गर्न नसक्दा उनीहरू भवनभित्र पसेर तोडफोड र लुटपाटसमेत गरेका थिए। त्यसपछि उनीहरूले सिंहदरबारको अघिल्लो भागमा आगो लगाइदिए।



क्षति र नियन्त्रण
भवनभित्र फैलिएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। आगोले सिंहदरबारको ऐतिहासिक संरचनामा ठूलो क्षति पुर्याएको अनुमान गरिएको छ। राष्ट्रिय गौरवका रूपमा रहेको यो भवन पुनः ठूलो संकटमा परेको सुरक्षास्रोतले जनाएको छ। सिंहदरबारमा सुरक्षाका लागि सधैं नेपाली सेना परिचालित हुने गरेको छ। सेनाको ब्यारेकसमेत त्यहाँ रहेको भए पनि मंगलबारको भीड नियन्त्रण गर्न सुरक्षाकर्मी असफल भएको देखिएको छ।



