नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशीविदेशी प्रतिक्रियावादीविरुद्ध अभियान छेड्ने चेतावनी दिनुभएको छ । शनिवार रोल्पाको लिवाङमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले सो चुतावनी दिनु भएको हो । संयोजक दाहालले देशलाई अप्ठयारोबाट पार लगाउन र मुलुकमा सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्रासहित समाजवादतिर अघि बढ्नका लागि पनि फेरि एकचोटी देशीविदेशी प्रतिक्रियावादी शक्तिविरुद्ध राष्ट्रव्यापी अभियान छेडनुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले आसन्न निर्वाचनमार्फत आफूहरुले मुलुकको स्वाधिनता र आत्मासम्मानमाथि प्रहार गर्नेहरुलाई प्रतिवाद गरेर अघि बढने सन्देश प्रवाह गर्न चाहेको पनि बताउनु भयो ।

संयोजक दाहालले भन्नुभयो,‘देशलाई अप्ठयारोमा पार्न खोजिएको छ । देश अप्ठयारोमा परेको पनि छ । यो अप्ठयारोबाट देशलाई निकास दिनका लागि जनताको आवश्यक्ता अनुसार सुशासन, सामाजिक न्याय र समृद्धिको एउटा नयाँ यात्रामार्फत समाजवादतिर अगाडि बढ्नका लागि एकचोटी फेरी केन्द्रिय आधार इलाकाको रुपमा रहेका जनताले नयाँ शीराबाट नयाँ रुपबाट, नयाँ अभियान चलाउनुपर्ने भएको छ । त्यसकारण म प्रमुख नेतृत्वको हैसियतले फेरी एकचोटी केन्द्रिय आधार इलाकाका जनतासँग अपिल गर्न चाहन्छु–यदि प्रतिक्रियावादी र तिनका दलालहरुले, विदेशी शक्ति र तिनका दलालहरुले नेपालको स्वाधिनता र आत्मासम्मानमाथि प्रहार गर्ने कोशिस गर्छंन भने नेपाली जनता नयाँ एकताका साथ नयाँ शक्तिका साथ त्यसको प्रतिवाद गर्नेछन् भन्ने विश्वास र यो सन्देश देशभर प्रवाहित गर्न र, यहाँ उभिएर देशभरी मात्रै होइन, विश्वभर रहेका नेपालीहरुलाई पनि फेरी एकचोटी नयाँ एकताका साथ नयाँ संकल्प र आत्माविश्वासका साथ प्रतिक्रियावादी र तिनका दलाल विरुद्ध अभियान छेडनका लागि हामी यहाँ छौँ ।’
संयोजक दाहालले देशलाई संकटबाट पार लगाउन सबै शक्तिहरुले सहकार्य गरेर अघि बढ्नुपर्ने समेत बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय