काठमाडौं । चन्द्रागिरि नगरपालिकामा प्रथम चन्द्रागिरि नायः खिं बाजा प्रतियोगिता हुने भएको छ । ह्वाईट क्रियशन ग्रुपको आयोजना र चन्द्रागिरि नगरपालिका वडा नम्बर–१० सह–आयोजक भई पहिलो पटक नगरपालिकामा नायः खिं बाजा प्रतियोगिता हुन लागेको हो ।
ह्वाईट क्रियशन ग्रुपका अध्यक्ष रवि शाहीले आउँदो माग ७ गते बुधबार चन्द्रागिरि नगरपालिका वडा नम्बर १० बुद्ध मन्दिर प्रांगढ, बोसिगाउँमा चन्द्रागिरि नगरपालिकाको इतिहासमै पहिलो पटक नायः खिं बाजा प्रतियोगिता हुन लागेको बताउनु भयो । उहाँले विशेषत चन्द्रागिरि नगर भित्रका नेवार समुदाय शाही, खड्गीले बजाउने बाध्य वादन, न्यांः खी बाजाको प्रतिस्पर्धा गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बाजा संरक्षण गर्दै सस्कृतिको संरक्षण र प्रवर्धन गर्नु नै मुख्य उद्देश्य रहेको बताउनु भयो । शाहीले बाध्य वादन तालसँग सम्बन्धित भएकोले नेवार समुदायले मान्दै र धान्दै आएका पर्वमा नायः खिं बाजा बजाइने गरेको र विशेषत उपत्यकाको थोरै स्थानमा मात्र यो बाजा बजाइने भएकोले बाजा संरक्षण गर्न आवश्यक भइसकेको उल्लेख गर्नुभयो ।



कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम, श्रष्टा सम्मान, प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्नेलाई मेडल, नगदबाट सम्मान गरिने छ भने सहभागीलाई प्रमाणपत्रद्वारा सम्मानित गरिने छ ।
यसअघि चन्द्रागिरि नगरपालिकामा पहिलो पटक बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता भएको थियो ।



