अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। उनीहरूलाई बिरामीबाट संकलन गरिएको राजस्व बैंकमा दाखिला नगरी हिनामिना गरेको आरोप लागेको छ।
आयोगका अनुसार, अस्पतालको स्वास्थ्य बिमा शाखामा करारमा कार्यरत कम्प्युटर अपरेटर तृप्ती शाहीले अनाधिकृत रूपमा बिलिङ काउन्टरमा बसेर बिरामीहरूबाट रकम संकलन गर्ने र उक्त रकम बैंकमा दाखिला नगरी हिनामिना गर्ने कार्यमा संलग्न रहेको पाइएको छ।



उक्त कार्यमा लेखा अधिकृत सुवेदी र कुमारी बैंकको अस्पताल परिसरस्थित एक्सटेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरको समेत संलग्नता रहेको आयोगको दाबी छ।
आयोगले गरेको अनुसन्धान अनुसार आर्थिक वर्ष २०८०/८१ को अवधिमा अस्पतालमार्फत कुल ३४ लाख ३ हजार ८५६ रुपैयाँ राजस्व संकलन भएकोमा मात्र ८ लाख ३६ हजार ३३० रुपैयाँ बैंकमा दाखिला गरिएको पाइएको छ। बाँकी २५ लाख ६७ हजार ५२६ रुपैयाँ ५० पैसा हिनामिना गरिएको आयोगले जनाएको छ।
यसका आधारमा आयोगले लेखा अधिकृत सुवेदी र कम्प्युटर अपरेटर शाहीविरुद्ध २५ लाख ६७ हजार ५२६ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो। त्यस्तै, मतियारको भूमिकामा संलग्न रहेको आरोपमा बैंककी तत्कालीन काउन्टर प्रमुख गोमा सिंजाली मगरविरुद्ध २४ लाख २ हजार ९० रुपैयाँ बिगो कायम गरी मुद्दा चलाइएको आयोगले जनाएको छ।



