काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् पूर्व खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पात्रसँग नभई प्रवृत्तिसँग जुध्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगरपालिकाले शनिबार आयोजना गरेको ‘नेतृत्व, एकता र रणनीति भेला’ लाई सम्बोधन गर्दै नेता श्रेष्ठले देश लुटिएको र सबैको मन रोएको समयमा कुनै पात्र विशेषभन्दा पनि त्यस्ता प्रवृत्तिसँग लड्न एकजुट हुनुपर्ने अहिलेको अवस्था रहेको औल्याउनु भयो । श्रेष्ठले संसदीय अभ्यासको अनुभव सुनाउँदै पुराना दलहरुले आफूहरुलाई हेपेको गुनासो गर्नुभयो ।



भेलामा रास्वपा काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले रास्वपाले रातो क्रान्तिलाई नभई निलो क्रान्तिलाई विश्वास गर्ने बताउनुभयो । उहाँले पार्टी सभापति रवि लामिछानेलाई राज्यले गलत नजरले हेरिरहेको पनि गुनासो गर्नुभयो । कुनै एउटा संस्थामा जागिर खाएको मान्छेलाई सरकारी रवैयाले लामिछानेले अनावश्यक दुःख दिइरहेको उल्लेख गर्नुभयो । विष्टले लामिछानेप्रति सुशीला कार्की प्रधानमन्त्री नबन्दा दिएको अभिव्यक्ति अहिले प्रधानमन्त्री भएपछि किन पूरा नगरेको भन्दै प्रश्न समेत गर्नुभयो ।
भेलामा रास्वपा चन्द्रागिरि नगर समितिअन्तर्गतका वडा समितिका सभापतिहरुले आ–आफ्नो वडाको प्रगती र भावी कार्ययोजना प्रस्तुत गरेका थिए भने केन्द्रीय सदस्य ज्वाला संग्रौला, विवेकशील साझा पार्टीका तत्कालिन चन्द्रागिरि समन्वय समितिका सभापति उत्तम केसीलगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा रास्वपाका सदस्यहरुले पार्टीको आगामी नीति, योजना तथा भावी कार्यक्रमहरुबारे नेतृत्वलाई प्रश्न गरेको थिए ।



