काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपालका अध्यक्ष दुर्गा प्रसाईँबीच सिंहदरबारमा छलफल भएको छ। प्रधानमन्त्री कार्कीले प्रसाईँ नेतृत्वको टोलीलाई सिंहदरबार बोलाएर वार्ता गरेकी हुन्।सरकारले यसअघि नै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको संयोजकत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरी प्रसाईँ पक्षसँग निरन्तर संवाद गर्दै आएको छ। सोही संवादको निरन्तरताका रूपमा प्रधानमन्त्री स्वयं वार्तामा सहभागी भएकी हुन्।
यसअघि मंसिर २२ गते पनि सरकार र प्रसाईँबीच छलफल भएको थियो। पछिल्लो समय प्रसाईँले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि त्यसले आगामी चुनावी वातावरणमा असर पर्न सक्ने आशंका बढेको छ। यही सन्दर्भलाई ध्यानमा राख्दै प्रधानमन्त्री कार्कीले वार्तामार्फत समाधान खोज्ने पहल अघि बढाएकी बताइएको छ।प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकार संवाद र सहमतिमार्फत असन्तुष्टि सम्बोधन गर्ने पक्षमा रहेको छ। छलफल सकारात्मक वातावरणमा अघि बढेको र वार्ता जारी रहने संकेत गरिएको छ।






