काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएसँगै जनस्तरमा सकारात्मक धारणा देखिन थालेको छ । जेन–जी पुस्ताको आन्दोलनको बलमा सरकार ढलेर कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएसँगै युवा पुस्तामा सकारात्मक सोच सुरु हुन थालेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शुक्रबार संविधानको धारा ६१ (४) अनुसार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुलुकको आवश्यकताअनुसार प्रधानमन्त्री कार्कीप्रति भरोसा गरेर एकताबद्ध भई अगाडि बढ्नुपर्ने जीन–जीको धारणा छ । एक दशकदेखि सत्तामा राज गरिरहेका शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई परास्त गर्नु नै विजय भएको युवाहरु बताउँछन् ।



नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेसँगै फागुन २१ गते बिहीवारका दिन नयाँ प्रतिनिधि सभा चुनावको मिति तोकिएको छ ।



