केही वर्षदेखी सम्बन्धमा रहँदै आएकी प्रेमिका अर्कैसँग लागेर आफूबाट टाढिएको भन्दै काभ्रेमा एक व्यक्तिले प्रेमिकाको हत्या गरेका छन् । ३३ वर्षकी प्रेमिका शर्मिला उप्रेतीको हत्यामा संलग्न रामेछापको मन्थली-१३ का ३७ वर्षका सन्तोष सुनार पक्राउ परेका छन् । सुनारले उप्रेतीको साउन ३२ गते बनेपा-१३ साँगामा रहेको भगवान थुम्की सामुदायिक बनमा हत्या गरेका थिए ।
उप्रेतीको आइतबार दिउॅसो बनेपा नगरपालिका वडा नं.१३ भगवान थुम्की सामुदायिक जंगलको भिरालो जमिनमा रहेको चिलाउनेको रुखको फेदमा कोल्टो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मिनबहादुर घलेले जानकारी दिए । उनका अनुसार ‘घुम्न जाऊँ’ भन्दै जंगल लगेपछि सन्तोषले पहिले मन्दिरमा गाडिएको लठ्ठीले प्रहार गरेका थिए र त्यसपछि कुर्थाको सल घाँटीमा बाँधेर हत्या गरेका थिए।



प्रारम्भिक बयानमा सन्तोषले विवाह गर्न प्रस्ताव गर्दा शर्मिलाले नमानेको र त्यसकै रिसमा हत्या गरेको बताएका छन्। अनुसन्धान पश्चात घटनामा संलग्न भएको आरोपमा रामेछापको मन्थली नगरपालिका वडा नं. १३ घर भई काभ्रेको बनेपा नगरपालिका वडा नं. १० स्थित आफ्नै कोठाबाट लुकेर बसेको अवस्थामा सुनारलाई ईट्टाभट्टाबाट पक्राउ गरेको हो। प्रारम्भिक बयानमा अभियुक्तले प्रेमिकालाई कर्तव्य गरी मारेको स्वीकारेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बनेपाबाट डीएसपी रामेश्वर त्वातीको कमाण्डमा १५ जनाको टोली र धुलिखेल अस्पतालको फरेन्सिक डाक्टर सहितको टोली खटी गई प्रारम्भिक अनुसन्धान गरिएको थियो । मृतकको बुबा कमल बहादुर उप्रेतीले सनाखत गरेका थिए । गत असार ३२ गते देखी हराएकी उप्रेतीको सोही दिन हत्या भएको प्रहरीले जनाएको छ । आरोपी सुनारलाई थप अनुसन्धानका लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट चार दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।



