काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा १६३ उजुरी दर्ता भएका छन् । काउन्सिलमा आर्थिक वर्ष २०८२-०८३ को पुस मसान्तसम्म १६३ वटा उजुरी दर्ता भएका हुन् ।



दर्ता भएका उजुरीमध्ये पत्रकार आचारसंहिताको प्रक्रियाबमोजिम पत्राचार भएपश्चात् ७७ वटा खण्डन सम्प्रेषण भएका, ५२ वटा पेस भएको जवाफ उजुरीकर्तालाई जानकारी गराइएको र १४ वटा क्षमायाचना-भूलसुधार भएका छन् ।
यसैगरी पाँचवटाले सामग्री स्थगन गरेका, १० वटालाई स्पष्टीकरण सोधिएको, पाँच वटालाई निर्देशन एवं सचेत गराइएको छ भने यस अवधिमा एक सञ्चारमाध्यमलाई अवज्ञाकारी÷कालोसूचीमा राखी कारबाही गरिएको छ ।
यस्तै, यस अवधिमा ६३२ वटा मिडिया-वेबपोर्टल-सामाजिक सञ्जालका ७४४ सामग्री स्वअनुगमन भएका छन् ।
सहप्रवक्ता रामशरण बोहराले बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “जसमध्ये ४४७ वटा मिडिया र १८५ वटा गैरमिडिया रहेका छन्, आचारसंहिता उल्लङ्घनको गम्भीरताका आधारमा १३६ वटा मिडिया र २७ वटा गैरमिडियालाई निर्देशन एवं सचेत गराइएको छ । कुनै पनि सम्पर्क नभएका २० वटा गैरमिडियाका सम्बन्धमा अनुसन्धान गरी कारबाही गर्न सम्बन्धित निकायमा पत्राचार भएको छ ।”
काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमबाट पत्रकार आचारसंहिता पालना भए-नभएको विषयमा नियमित अनुगमन गरिरहेकामा निर्वाचन आचारसंहिता लागू भएको परिप्रेक्ष्यमा निर्वाचन आचारसंहिता पालना भए-नभएको विषयमा विशेष अनुगमन प्रक्रिया थालनी गरेको जनाएको छ ।
यसैगरी पत्रकारिताका मूल्य-मान्यताविपरीत गैरपेसागत आचरण गर्ने, तथ्यगत परीक्षण एवं आधार÷प्रमाण बेगर सामग्री सम्प्रेषण गर्ने, सामाजिक सञ्जालको दुरूपयोग गरी समाजमा उत्तेजना-अफवाह भ्रम फैलाउने, परिस्थितिलाई उत्तेजक बनाउन नियोजित रूपमा गलत, मिथ्या एवं तथ्यलाई तोडमरोड गरी सामग्री प्रकाशन गर्ने, पेसागत आचरणविपरीत एवं गैरकानुनी कार्य भएको हुँदा त्यस्ता कार्य हुन नदिनेतर्फ सजग रहन सञ्चारमाध्यम, आमपत्रकार एवं सञ्चारकर्मीमा आग्रह गरिएको छ ।



