काठमाडौं । रगतबिनाको जीवनको हामीले कहिल्यै कल्पना पनि सक्दैनौ । स्व–इच्छाले रगत दान गर्नु नै रक्तदान हो । मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।




चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ स्थित फ्रेण्डस सोसियल युनिटीले प्रथम बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा महिला ६ जना पुरुष २० जना गरी २६ जना रक्तदाताहरुले रगत दान गरेका थिए । युनिटीका सचिव श्याम मानन्धरले देशमा अहिले रगत अभाव रहेको र रगतकै कारण ज्यान नगुमोस् भन्ने उद्देश्यले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । उहाँले नेपालमा वर्षेनी करिब ३ लाख युनिट रगत आवश्यक पर्ने र जहिल्यै पनि रगत अभावको समाचार आइरहने हुँदा युनिटीले सानो सहयोग पुराउन खोजेको मानन्धर बताउनु हुन्छ । उहाँले देशमा शिक्षित व्यक्तिको संख्या बृद्धि भएपनि अझै रक्तदानको ज्ञान बारेमा पर्याप्त जानकारी हुन नसकेको र रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम हटाउन नसकेको उल्लेख गर्नुभयो ।

मानन्धर भन्नु हुन्छ, ‘रक्तदान नै जीवनदान हो । हामीले मन्दिरमा गएर धूप बत्ती बाली लाखौंको फलफूल र अन्य बस्तु चढाउँदैमा धर्म हुँदैन । कसैको जीवन बचाउने रक्तदान नै सबैभन्दा ठूलो धर्म हो । हाम्रो शरीरमा भएको रगत दान नगरे तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ । त्यसैले खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने ? रक्तदान गरेजस्तो पुण्यको काम अरु हुनै सक्दैन ।

यसअघि २०८० सालको विजया दशमी, दीपावली, छठ तथा नेपाल सम्वत् ११४४ को शुभकामना आदानप्रदान भएको थियो । कार्यक्रममा बागमती प्रदेशका पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन, बागमती प्रदेश सभा सदस्य रमा आलेमगर, नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, जनप्रतिनिधलगायतको उपस्थिति रहेको थियो ।



