काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव देखिएको अवस्थामा बजारमा कालोबजारी, लुकाइछिपाई भण्डारण तथा बढी मूल्यमा बिक्रीजस्ता गतिविधि बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तालाई सचेत गराएको छ । विभागले ग्यासको अवैध कारोबारबारे कुनै जानकारी भए ११३७ नम्बरमा निःशुल्क फोन गरेर सूचना दिन आग्रह समेत गरेको छ ।
नेपाल आयल निगमले ग्यासको माग व्यवस्थापन गर्न आधा सिलिण्डर मात्र बिक्री गर्ने व्यवस्था मिलाए पनि बजारमा अभाव कायमै रहेको विभागले जनाएको छ । यस्तो अवस्थामा कृत्रिम अभाव सिर्जना गर्ने तथा गैरकानुनी व्यापार गर्नेहरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ ।



यसैबीच विभागको अनुगमनका क्रममा श्रीराम ग्यास उद्योगको हरिसिद्धिस्थित गोदाममा लुकाइराखिएका १४.२ किलोग्रामका ६ हजार ३७७ सिलिण्डर फेला परेपछि उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । विभागले देशभर अनुगमनलाई तीव्र बनाउँदै कानुनअनुसार व्यवसाय सञ्चालन गर्न सबै उद्योग र वितरकलाई निर्देशन दिएको छ ।



