रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना नजिक लिखु खोला क्षेत्रमा सुनकोशी नदीमा यात्रुसहित कार खसेको छ। फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालका अनुसार मध्यपहाडी राजमार्गअन्तर्गत सडक निर्माणस्थलमा खटिएका कन्ट्रयाक्टरसहित सवार कारलाई बसले ठक्कर दिएपछि कार सुनकोशी नदीमा खसेको हो। दुर्घटना सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुर क्षेत्रमा भएको उनले जानकारी दिए।
उपाध्यक्ष बरालका अनुसार कारमा चार जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनापछि प्रहरी, स्थानीयवासी तथा अन्य उद्धार टोली घटनास्थलमा परिचालन भएका छन्।
दुर्घटनामा परेकाहरूको अवस्था, कार तथा बसको नम्बर र दुर्घटनाको विस्तृत कारणबारे भने अहिलेसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।






