काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लाबाट बसाइँसराईले गाउँ रित्तो हुँदै गएको छ । ९ वटा जिल्ला रहेको सुदूरपश्चिममा कुल जनसङ्ख्याको २० प्रतिशत कञ्चनपुरमा रहेको छ ।
नेपालको जनगणना २०७८ अनुसार यो प्रदेशमा २६ लाख ९४ हजार ७ सय ८३ जनसङ्ख्या छ । त्यसमध्ये महिलाको १४ लाख २१ हजार ९ सय ९७ छ भने पुरुषको जनसङ्ख्या १२ लाख ७२ हजार ७ सय ८६ छ । यस प्रदेशबाट धेरै जना पुरुष रोजगारीका लागि भारत र तेस्रो मुलुकसमेत जाने गरेकाले अन्य प्रदेशको तुलनामा पुरुषको जनसङ्ख्या महिलाको भन्दा कम्ती देखिएको छ।



प्रदेशका नौ जिल्लामध्ये तराईका दुई वटा र दुई वटा पहाडका बाहेक पाँच वटा जिल्लाको जनसङ्ख्या घट्दो अवस्थामा छ । जनगणनाअनुसार अछाम, बैतडी, डोटी, बझाङ, डडेल्धुरा जिल्लाको जनसङ्ख्या हरेक वर्ष घट्दो अवस्थामा छ । हिमाली जिल्ला दार्चुलाको जनसङ्ख्या वृद्धिदर स्थिर अर्थात् शून्य प्रतिशत छ ।
पहाडको बाजुरा जिल्लाको जनसङ्ख्या वृद्धिदर सामान्य अवस्थामा बढेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय सुदूरपश्चिमले कञ्चनपुरका ९ वटा स्थानीय तहको जनसङ्ख्यामा भीमदत्त नगरपालिकाको जनसङ्ख्या १ लाख २२ हजार ३ सय २० रहेको जनाएको छ ।
यसैगरी, कृष्णपुर नगरपालिकाको ७१ हजार ५ सय, शुक्लाफाँटा नगरपालिकाको ५३ हजार ९ सय ६९, वेदकोट नगरपालिकाको ५७ हजार ६ सय ८०, दोधारा चाँदनीको ४२ हजार ९ सय ७४ जनसङ्ख्या रहेको छ । पुनर्वास नगरपालिकामा ६१ हजार ७ सय ४८, बेलौरीमा ५३ हजार ९ सय १०, बेलडाँडी गाउँपालिकामा २१ हजार ८ सय ८८ र लालझाडी गाउँपालिकामा २५ हजार ३७ जनसङ्ख्या छ ।



