सर्लाही– बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उपमेयर लिला कुमारी मोक्तान लगायतलाई बचाउनका लागि नेकपा माओवादी केन्द्र सर्लाहीले एक भव्य जनसभा सम्पन्न गरेको छ। माओवादी केन्द्रका नेताहरुले सरकारमाथि आरोप लगाउँदै भनें कि सरकारले बागमती नगरपालिकाका जनप्रतिनिधिहरूको विरुद्ध झुटा मुद्दा लगाउने प्रपञ्च रचिरहेको छ।
मंगलबार, पुतली चोकमा सम्पन्न भएको जनसभामा माओवादी केन्द्रका मधेश प्रदेश इन्चार्ज लिलामणि पोख्रेल लगायतका नेताहरूले सम्बोधन गरेका थिए। पोख्रेलले भने, “अहिलेको सरकार आफैं भ्रष्टाचारमा लिप्त छ र राजनीतिक प्रतिशोधका कारण विकासप्रेमी प्रतिनिधिहरूलाई मुद्दामा फसाउन खोज्दैछ।” उनले पार्टीको भ्रष्टाचार विरोधी अभियानका कारण एमाले र कांग्रेसको गठबन्धन स्पष्ट भएको पनि दाबी गरे।



यस बीच, माओवादी केन्द्रले पूर्व-पश्चिम लोकमार्ग २ घण्टा बन्द गरि जनसभा गरेको थियो। यातायात सेवा प्रभावित भएपछि, यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न निर्देशन दिइएको थियो। सुरक्षा व्यवस्था कडा बनाई, नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा तैनाथ गरिएको थियो।
कार्यक्रममा माओवादी समर्थक नेता र कार्यकर्ताहरू ठूलो सङ्ख्यामा सहभागी भएका थिए, जसले आफ्नो आन्दोलनलाई अझ सशक्त बनाउने आशा व्यक्त गरेका छन्। पार्टीले चेतावनी दिएको छ कि यदि सरकारले आफ्नो माग सम्बोधन नगरे भने, भोलिबाट अनिश्चितकालीन जिल्ला बन्दको कार्यक्रम लागू गर्नेछ।
बागमती नगरपालिकाको खाली भूमि र सुकुम्बासी बस्तीको मुद्दामा जिल्ला वन कार्यालयले थापा र मोक्तानविरुद्ध वन मुद्दा दायर गर्न तयारी गरेको छ, जसको विरोध गर्दै माओवादी केन्द्रले आन्दोलन तीव्र बनाएको छ।



