बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ ।प्रदेशसभा सचिवालय परिसर हेटौंडामा आज भएको दलको निर्वाचनमा बानियाँले २२ मत पाउँदा मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामाले १४ मत पाउनुभयो । बागमती प्रदेशमा कांग्रेसका ३७ सांसद छन । १ मत बदर भएको छ । लामाले दलको नेताको हैसियत गुमाएपछि आज दलको नेता चयनका लागि निर्वाचन भएको हो । बानियाँको नेतृत्वमा कांग्रेसका २१ जना सांसदले ९ साउनमा दल कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । लामा नेतृत्व सरकारका पाँच जना मन्त्रीले राजीनामा दिएर बानियाँलाई साथ दिएका थिए ।



बानियाँ र लामा संसदीय दलको नेतामा दोस्रो पटक भिडेका हुन् । प्रदेशसभाको दोस्रो कार्यकालमा पहिलो पटक १३ पुस २०७९ मा संसदीय दलको निर्वाचन हारेका बानियाँले साढे २ वर्षमै नतिजा उल्ट्याए । लामा र बानियाँ दोस्रो पटक दलको नेताका लागि निर्वाचन लडेका हुन् । ४ मंसिर २०७९ मा भएको प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेस संसदीय दलको नेताका लागि १३ पुस २०७९ मा भएको निर्वाचनमा लामासँग बानियाँ ५ मतले पराजित भएका थिए । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत मात्रै पाएका थिए ।



