काठमाडौं । स्वास्थ्य समस्याले थलिएकी बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री रमा आलेमगरलाई उपचारका लागि आर्थिक सहयोगको अपील गरिएको छ । अल्सर लगायतका कारणले कलेजोमा गम्भीर संक्रमण भएको र कलेजो ट्रान्सप्लान्ट गर्नुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन् । आलेमगरको उपचारका लागि आर्थिक समस्या रहेको पारिवारिक सदस्यले बताएका छन् । साथै राज्य तथा अन्य कुनै पनि निकायबाट कुनै सहयोग नभएकोले उपचारका लागि आर्थिक संकट भएको भन्दै परिवारले चिन्ता व्यक्त गरेका छन् ।
हाल काठमाडौं महाराजगन्जस्थित टिचिङ अस्पतालको आइसियुमा आलेमगरको उपचार भइरहेको छ । उनको स्वास्थ्यमा देखिएको कलेजो सम्बन्धी जटिल समस्याको उपचार गर्न भारत लानुपर्ने र त्यसका लागि महँगो खर्च लाग्ने भएकोले आर्थिक सहयोग उपलब्ध गराउन शुभेच्छुकहरूप्रति उनको सचिवालयले अपील गरेको छ ।




निरन्तर ईमान्दारितापूर्वक राजनीतिमा होमिएर अटल निष्ठाका साथ जनता र समाजको विकासप्रति प्रतिबद्ध भएर लागेकी आलेले आफ्नै जीवनको कठिन समयमा सास्ती व्यहोर्दै छिन् । जनसेवालाई नै आफ्नो जीवनको मूलमन्त्र मानेर चौबिसै घण्टा जनतामाझ खटिरहने एक लगनशील नेतृ यतिबेला स्वास्थ्य समस्याले थलिएकी छिन् । बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री आलेमगरको नाजुक स्वास्थ्य अवस्थाले उनका समर्थक, पार्टीका साथीभाई र समग्र चन्द्रागिरि, बागमतीका जनतालाई स्तब्ध र चिन्तित बनाएको छ । आलेमगर २०७४ सालमा नेकपा एमालेबाट र २०७९ सालमा नेकपा समाजवादीबाट बागमती प्रदेश सदस्यमा काठमाडौं क्षेत्र नं १० ख बाट निर्वाचित भएकी हुन् । उनले प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी समेत बहन गरिसकेकी छन् ।



