काठमाडौं । लगातारको वर्षाले देशका विभिन्न जिल्लामा बाढी र पहिरोले यातायात संचालन अवरुद्ध हुन पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणमा केही प्रमुख राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारी आवागमनमा कठिनाइ भएको उल्लेख गरेको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द हुन पुगेको प्रहरीले जनाएको छ ।

यस्तै, मुस्ताङको थासाङ क्षेत्रमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ भने रुकुम पश्चिमको भेरी करिडोरमा पनि सवारी संचालन हुन सकेको छैन ।

त्यसैगरी रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक बाढीले बन्द भएको छ । दोलखाको लामासाँघु–रामेछाप सडकखण्डमा नदीको बहावले सडक कटान गरेपछि उक्त मार्गमा समेत यातायात पूर्णरूपमा ठप्प हुन पुगेको छ ।

सम्भावित बाढी तथा थप पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी संचालनमा रोक कायम राखिएको छ ।

यस्तै, मकवानपुरस्थित कान्ति लोकपथको हेटौँडा–ठिङ्गन खण्डमा पनि रातिको समयमा सवारी आवतजावतमा प्रतिबन्ध जारी छ ।

काठमाडौंको सीतापाइला–धार्के सडक, भोजपुरको मध्यपहाडी लोकमार्ग, बागलुङको कालीगण्डकी करिडोर तथा मनाङको चामे–बेँसीसहर सडकमा एकतर्फी रूपमा सवारी संचालन भइरहेको छ ।

नेपाल प्रहरीले वर्षा निरन्तर भइरहेकाले सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भन्दै लामो दूरीको यात्रा अघि सम्बन्धित निकायबाट पछिल्लो सडक अवस्था बुझ्न र आवश्यक सावधानी अपनाउन सबै यात्रु तथा चालकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय