नेपाल भ्रमणमा रहेकी बेलायतकी मन्त्री सीमा मल्होत्रा को उपस्थितिमा नेपाल–बेलायत व्यापार तथा लगानीसम्बन्धी उच्चस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम नेपाल ब्रिटिश च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रि द्वारा आयोजना गरिएको हो । अन्तरक्रियामा नेपाल र बेलायतबीच व्यापार, लगानी, रोजगारी सिर्जना, पर्यटन तथा पूर्वाधार विकासका सम्भावनाबारे छलफल गरिएको आयोजकले जनाएको छ ।



कार्यक्रममा सहभागी दुवै देशका सरकारी अधिकारी, व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरूले दुई देशबीचको आर्थिक सहकार्य विस्तार गर्न नयाँ अवसरहरू पहिचान गर्नुपर्नेमा जोड दिएका थिए ।
बेलायती मन्त्री मल्होत्राले नेपालसँगको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउँदै व्यापार र लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्ने बेलायतको प्रतिबद्धता व्यक्त गरेकी थिइन् । कार्यक्रममा नेपाली निजी क्षेत्रका प्रतिनिधिहरूले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र पूर्वाधार सुधारका विषयमा सुझाव दिएका थिए । साथै पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रमा लगानी विस्तारको सम्भावनाबारे पनि छलफल भएको बताइएको छ । दुवै पक्षले आगामी दिनमा यस्ता अन्तरक्रियालाई निरन्तरता दिँदै आर्थिक साझेदारीलाई अझ गहिरो बनाउने सहमति जनाएका छन् ।



