युरोपियन युनियनले बेल्जियमको राजधानी ब्रसेल्समा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट चन्द्रागिरि नगरपालिका का मेयर घनश्याम गिरी र काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल सहितको प्रतिनिधिमण्डलले सहभागिता जनाएका छन्। नेपालका स्थानीय तहका प्रतिनिधिहरू सहभागी भएको यस सम्मेलनमा सुशासन, दिगो विकास, स्थानीय सरकारबीचको सहकार्य, तथा अन्तर्राष्ट्रिय साझेदारीका विषयमा छलफल भएको आयोजकहरूले जनाएका छन्। मेयर गिरीले चन्द्रागिरि नगरपालिकाले संचालन गरिरहेका विकासका काम, नवप्रवर्तन तथा नगरको दीगो योजनाबारे अन्तर्राष्ट्रिय समुदायसँग अनुभव आदान–प्रदान गरेको जनाएको छ।



उपप्रमुख सुनिता डंगोलले महानगरका कार्यक्रम तथा स्थानीय शासन प्रणालीमा डिजिटल रूपान्तरणका प्रयासहरू सम्मेलनमा प्रस्तुत गरेको बताइएको छ।सम्मेलनमार्फत नेपालका स्थानीय सरकारका प्रतिनिधिहरूले विश्वका अन्य शहरहरूसँग नेटवर्किङ गर्दै भविष्यमा विकास तथा सहकार्यका सम्भावनाहरू बारे छलफल गर्ने अवसर पाएका छन्।



