नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनका पदाधिकारीहरूको अभिव्यक्तिप्रति गम्भीर असन्तुष्टि जनाउनुभएको छ। उहाँले उक्त फाउन्डेसन एमाले पार्टीले औपचारिक रूपमा निर्माण नगरेको स्पष्ट पार्दै, त्यसको आगामी गतिविधि कुन दिशातर्फ जाने हो भन्ने चासो व्यक्त गर्नुभएको छ। आज काठमाडौंस्थित पार्टी कार्यालयमा आयोजित मदन–आश्रित स्मृति प्रतिष्ठानको पदाधिकारी शपथ कार्यक्रममा सम्बोधन गर्दै ओलीले फाउन्डेसनबारे स्पष्ट धारणा राख्नुभएको हो। उहाँले भन्नुभयो, यो फाउन्डेसन पार्टीले बनाएको होइन, यो फरक ढंगले बनाइएको हो। यसको कार्यशैली, अभिव्यक्ति र दृष्टिकोण पार्टीको मूल नीतिसँग मेल खान्छ वा खान्न हेर्नुपर्ने हुन्छ।



ओलीले फाउन्डेसनसँग पार्टीको नाम जोडिनु स्वाभाविक भए पनि त्यसले दिने सन्देश र अभिव्यक्तिहरूले पार्टीको हित नहुन सक्ने खतरा औंल्याउनुभयो। सोही कार्यक्रममा मदन–आश्रित स्मृति प्रतिष्ठानका नयाँ पदाधिकारीहरूले औपचारिक रूपमा शपथ ग्रहण गरेका छन्। पार्टीको उपमहासचिव प्रदीप ज्ञवालीको अध्यक्षतामा गठित प्रतिष्ठानको प्रमुख संरक्षकमा स्वयं केपी शर्मा ओली हुनुहुन्छ। शपथ लिने पदाधिकारीहरूमा उपाध्यक्ष रामेश्वर फुयाँल, सचिव मधु तिम्सिना र कोषाध्यक्ष सरोज दाहाल रहनुभएको छ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष प्रदीप ज्ञवालीले प्रतिष्ठानले दिवंगत नेता मदन भण्डारी र जीवराज आश्रितको विचार, योगदान र स्मृतिलाई जोगाउने कार्य ३१ वर्षदेखि गरिरहेको जानकारी दिनुभयो। उहाँले यस कार्यलाई अझ व्यापक र सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाउनुभयो। कार्यक्रममा पार्टीका वरिष्ठ नेता, कार्यकर्ताहरू तथा विभिन्न सङ्गठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।



