भिजिट भिसा प्रकरणमा संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक समिति गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।बुधवार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ दुवै पार्टीका सांसदहरूले विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरे लगत्तै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोधमा उभिएका थिए।

सभामुख घिमिरेले रास्वपाकी सांसद बिन्दवासिनी कंसकारलाई बोल्न समय दिएका थिए। सांसद कंसकारले विगतदेखि निरन्तर उठाउँदै आएको मागअनुसार भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन नभएको भन्दै विरोध जनाइन्। उनले समिति नबनाइएसम्म आफूहरू बैठकमा नबस्ने स्पष्ट पारिन्।

त्यसपछि सभामुखले राप्रपाका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनलाई बोल्ने समय दिएका थिए। अध्यक्ष लिङ्देनले पनि आफ्ना पार्टीका मागहरूप्रति सरकार उदासीन देखिएको आरोप लगाउँदै समिति गठन नभएसम्म संसदमा निरन्तर विरोध जारी रहने बताए। दुवै नेताहरूले मन्तव्य राखिसकेपछि रास्वपा र राप्रपाका सबै सांसदहरूले बैठक कक्ष बहिष्कार गर्दै बाहिरिएका थिए।

रास्वपा र राप्रपाले विगत केही समयदेखि भिजिट भिसा प्रकरणमा गम्भीर छानबिनको माग गर्दै आएका छन्। उनीहरूले उच्चस्तरीय समिति गठनमार्फत दोषीहरूलाई कानूनी दायरामा ल्याउनुपर्ने धारणा राख्दै आएका छन्। यस घटनाले प्रतिनिधिसभामा देखिएको असहमति र सरकार–विपक्षबीचको दूरीलाई झनै प्रस्ट पारेको छ। सत्तापक्षले माग सम्बोधन नगरेमा संसदको कार्यसुची निरन्तर अवरुद्ध हुने देखिएको विश्लेषकहरू बताउँछन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय