लगातार दुई दिनदेखि परेको भीषण वर्षापछि खीरगंगा नदीमा आएको बाढीले भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जिल्लाको धराली बजारमा भीषण क्षति पुर्‍याएको छ। बाढीसँगै आएको गेग्रान माटो, ढुंगा, रूख जस्ता बहाव सामग्री ले बजार क्षेत्रका कैयौं घरहरू पुरिएका छन् भने केही घरहरू बगाएर लगिएको पुष्टि भएको छ। भारतीय सञ्चारमाध्यमहरूले दिउँसोसम्म ४ जनाको ज्यान गएको र करिब ७० जना अझै बेपत्ता रहेको जनाएका छन्। घटनास्थलमा स्थानीय प्रशासन, सुरक्षाकर्मीहरू, र उद्धार टोली परिचालित गरिएका छन्। नेपाली सीमासँग नजिक यो पहाडी क्षेत्र अहिले उच्च जोखिममा रहेको बताइएको छ।

लगातारको वर्षाले जोखिम बढाएको
यस क्षेत्रमा पछिल्ला दुई दिनदेखि लगातार भारी वर्षा भइरहेको थियो। मौसम विभागले पहिले नै पहिरो र बाढीको जोखिम बढेको चेतावनी दिएको थियो। अन्ततः खीरगंगा नदीमा आएको बाढीले बस्ती नै तहसनहस बनाएको हो। नदीको बहावसँगै आएको गेग्रानले सडक, पुल, बिजुली र संचार सेवामा समेत क्षति पुर्‍याएको छ।

सरकारी प्रतिक्रिया र उद्धार कार्य
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनामा दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि जिल्ला प्रशासनलाई सक्रिय बनाएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भने, ूउद्धार कार्य तीव्र पारिएको छ र पीडितहरूलाई सुरक्षित स्थानमा सारिने कार्य जारी छ।ू

प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण
प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत उत्तराखण्डमा आएको प्राकृतिक प्रकोपप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले लेखेका छन्, ूराज्य सरकारको निगरानीमा राहत र उद्धार टोलीले हरसम्भव प्रयास गरिरहेका छन्। प्रभावितहरूप्रति मेरी समवेदना छ। केन्द्रीय गृहमन्त्री अमित शाहले पनि स्थिति गम्भीर रहेको भन्दै प्रभावित क्षेत्रमा आईटीबीपी भारत तिब्बत सीमा प्रहरीका तीनवटा टोलीहरू पठाइएको जानकारी दिएका छन्।

स्थानीयवासी त्रासमा, आफन्त हराएका पीडितहरूको बेहाल
घटनापछि स्थानीय बासिन्दा निकै त्रसित छन्। आफ्नो घरजग्गा गुमाएका, आफन्तसँग सम्पर्क बिहीन भएका मानिसहरू राहत केन्द्रहरूमा आश्रय लिइरहेका छन्। केहीले आफन्तको खोजीका लागि प्रशासनसँग गुहार मागिरहेका छन्। धराली गाउँ देहरादूनबाट २१८ किलोमिटर र गंगोत्री धामबाट १० किलोमिटर दूरीमा पर्दछ। यो स्थान धार्मिक पर्यटनका दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिन्छ।

निरन्तर अपडेट
स्थिति अझै स्थिर भइनसकेकोले मृतक र बेपत्ताको सङ्ख्या बढ्न सक्ने आशंका गरिएको छ। उद्धार टोलीले गम्भीर प्रयास गरिरहेको बताइए पनि खराब मौसमका कारण कार्यमा चुनौती भइरहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय