काठमाडौं — प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न दाताबाट कोषमा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा भएको हो।

सरकारका अनुसार उक्त रकम नेपालका विभिन्न १० वटा वाणिज्य बैंकमा रहेका कोषका खातामा दाताहरूले जम्मा गरेका हुन्। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो धनजनको क्षति भएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग जुट्ने क्रम तीव्र बनेको हो।

बुधबार बिहान नेपाल–चीन सीमा क्षेत्र हुँदै बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीले नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीबाट जनधनको क्षति भएपछि सरकारले तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाएको थियो। मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै विभिन्न व्यक्ति, निजी क्षेत्र, संघसंस्था तथा अन्य दाताहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्न थालेका हुन्।

सरकारले कोषमा रकम जम्मा गर्ने तथा सहयोग संकलनको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयका रूपमा तोकेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संस्थागततर्फ एक करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताहरूको रकम आफैँमार्फत स्वीकार गरिरहेका छन्। व्यक्तिगततर्फको नगद सहयोग भने दाताहरूले अर्थ मन्त्रालयमै पुगेर प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ। पछिल्लो ३६ घण्टामा ठूलो रकम सहयोग प्राप्त भएसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रहेको कुल बचत रकम पनि चार अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। मन्त्रालयका अनुसार कोषमा अब चार अर्ब नौ करोड ११ लाख ६० हजार रुपैयाँ बचत रहेको छ।

यसअघि कोषमा दुई अर्ब १७ करोड २५ लाख नौ हजार ७५९ रुपैयाँ बचत थियो। पछिल्लो अवधिमा प्राप्त भएको ठूलो सहयोग रकमपछि कोषको मौज्दात उल्लेख्य रूपमा बढेको हो।यसैगरी, बिहीबार मात्रै करिब ६ घण्टाको अवधिमा नेपालका निजी क्षेत्रका दाताहरूबाट अर्थ मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। उक्त रकम पनि बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि प्रयोग गरिनेछ।

सरकारका अनुसार हालसम्म प्राप्त सहयोगमा विभिन्न मित्रराष्ट्रहरूले घोषणा गरेको सहायता रकम भने समावेश गरिएको छैन। विदेशी सहयोगअन्तर्गत घोषणा भएका रकमको प्रक्रिया तथा विवरण छुट्टै रहने जनाइएको छ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेका बेला उद्धार कोषमा छोटो समयमै ठूलो रकम संकलन हुन थालेको हो। सरकारले संकलित रकम विपद् प्रभावितको उद्धार, राहत तथा आवश्यक पुनःस्थापनाका कार्यमा परिचालन गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय