काठमाडौं । एएफसी कप क्वालिफायरको प्रारम्भिक चरणको प्लेअफमा मच्छिन्द्र फुटबल क्लब र भुटानको पारो एफसीबीच हुँदैछ । खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे हुनेछ । आजको विजेताले दोस्रो चरणमा ईण्डियन सुपर लीग विजेता मोहन बगानसँग खेल्ने छ ।
गत वर्ष श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लबसँग पराजीत भएको मच्छिन्द्र यस पटक यहि खेलका लागि नेपालमा उपलब्ध राम्रा खेलाडी अनुबन्ध गर्दै स्तरीय टोली बनाएको छ ।



दोस्रो पटक एएफसी कप क्वालिफायर खेल्न लागेको मछिन्द्र यस पटक गम्भीर देखिन्छ । गतवर्ष घरेलु मैदानमै मछिन्द्र श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लबसँग हारेको थियो । त्यसैले यस पटक क्लबले लीग खेल्दा टोलीमा नरहेका ८ जना खेलाडीलाई पारोविरुद्धको खेलकै लागि टोलीमा अनुबन्ध गरेको छ । राष्ट्रिय टोलीको समेत अनुभव बोकेका ८ जना युवा खेलाडीको आगमनले मछिन्द्र यस पटक दोस्रो चरण पुग्ने दाउमा छ ।
ए डिभिजन खेल्दा टोलीमा रहेका १५ जना खेलाडीलाई नै निरन्तरता दिएको मछिन्द्रले यस पटक साफ च्याम्पियनसीप खेलेका आशिष चौधरी, एरिक विष्ट, लाकेन लिम्बू, आयुष घलान र सनिश श्रेष्ठलाई अनुबन्ध गर्दा घरेलु फुटबलमा राम्रो छाप छोडेका रेजिन सुब्बा र रोहित सुब्बा तथा विदेशी खेलाडी मेसुके ओलोमोउलाई टोलीमा भित्र्याएको छ । तर मेसुकेको कागजी प्रक्रिया बाँकी रहेकोले उनी पारोविरुद्धको खेलमा उपलब्ध हुने सम्भावना कमै छ । यद्यपी आल टोलीमा रहेका खेलाडीबाट नतिजाको आशा गर्न सकिने कप्तान तथा गोलरक्षक विशाल श्रेष्ठको भनाई छ । यद्यपी पारोलाई कमजोर आँक्न नमिल्ने उहाँले बताउनु भयो ।
लगातार तेस्रोपल्ट एएफसी कप छनोट खेल्ने लागेको पारोमा जावलाखेल युथ क्लबबाट ए डिभिजन लीग खेलेका डिफेन्डर फ्लोरेन्ट कोआरा छन् । आफ्नै प्रशिक्षणमा खेलिसकेका फ्लोरेन्ट विपक्षी टोलीमा भएपनि रणनीतिक रुपमा आफु तयार रहेको प्रशिक्षक केसीको दाबी छ । पहिलो सहभागीतामा दोस्रो चरणसम्म पुगेको पारो पनि घरेलु टोलीविरुद्ध अनुकुल नतिजाको आशामा छ ।
यसमा विजयी भएको खण्डमा दोस्रो चरणमा ईण्डियन सुपर लीग विजेता मोहन बगानसँग ३१ गते खेल्नेछ । दक्षिण एसियाली क्षेत्रमा मछिन्द्र, पारो र मोहन बगानसहित बंगलादेशको अबहानी लिमिटेड ढाका र माल्दिभ्सको क्लब इगल प्रतियोगितामा सहभागी छन् ।



