काठमाडौं । धार्मिक आस्था, संस्कृति र परम्पराको प्रतीक मानिने मच्छेनारायण मेलामा खुलेआम एनर्जी ड्रिंक कम्पनीहरूको विज्ञापन टाँगिएपछि स्थानीयवासी र भक्तजनमा तीव्र असन्तोष फैलिएको छ । मेलाको प्रवेशद्वारमै ठूला–ठूला व्यावसायिक बोर्ड राखेर धार्मिक स्थललाई व्यापारिक प्रचारस्थल बनाइएको भन्दै जनताले वडा कार्यालय, मेला आयोजक समिति र सम्बन्धित निकायसँग जवाफ मागेका छन् ।

वर्षौंदेखि श्रद्धा र विश्वासको केन्द्र मानिएको मेलामा यसपटक ‘रेड बुल’ र ‘एक्सट्रिम एनर्जी ड्रिंक’ जस्ता कम्पनीहरूको खुलम खुल्ला विज्ञापन भएपछि स्थानीयहरूले प्रश्न उठाएका हुन् । उनीहरुले धार्मिक मेलाको पवित्रता बेचेर कसले र कसको स्वार्थ पूरा भइरहेको छ भन्दै प्रश्न गरेका छन् ।

स्थानीय भन्छन्, ‘जनप्रतिनिधि र आयोजकहरू जनभावनाभन्दा पनि कम्पनीको पैसाप्रति बढी झुकेका छन् । मेलाको नाममा कति रकम लिइयो ? कति एनर्जी ड्रिंक उपलब्ध गराइयो ? कुन आधारमा यस्ता विज्ञापन राख्न अनुमति दिइयो ?’ यस्ता प्रश्नहरूको जवाफ सार्वजनिक गर्न माग गरिरहेका छन् ।

आक्रोशित स्थानीयहरू भन्छन्, ‘यदि मेला सञ्चालन गर्न पैसा नै चाहिएको हो भने जनतालाई स्पष्ट हिसाब देखाउनुपर्छ । धर्म र संस्कृतिको नाममा गोप्य कारोबार गर्ने अधिकार कसैलाई छैन ।’

सरोकारवालाहरूले वडालाई सम्पूर्ण आर्थिक विवरण सार्वजनिक गर्न माग गरेका छन् । अन्यथा उक्त प्रचार सामग्री हटाउन समेत चेतावनी दिएका छन् ।

धार्मिक आस्थामाथि व्यापारिक हस्तक्षेप बढ्दै जाँदा जनतामा निराशा, आक्रोश र अविश्वास गहिरिँदै गएको देखिन्छ । अहिले सबैको नजर वडा कार्यालय, मेला आयोजक समिति र सम्बन्धित निकायको जवाफतर्फ केन्द्रित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय