लेकवेशी–७, लमना क्षेत्रमा रहेको राउटे बस्ती नजिकै यतिबेला चुनावी गतिविधि बाक्लिएको छ। झण्डा र प्रचार सामग्रीले सजिएका सवारीसाधनहरू दैनिकजसो बस्ती छेउबाट ओहोर–दोहोर गरिरहेका छन्। तर लोपोन्मुख राउटे समुदाय भने चुनावी प्रक्रियाबाट बाहिरै छन्।
करीब १३४ जनसंख्या रहेको उक्त बस्तीमा ७३ जना मतदानयोग्य उमेरका भए पनि नागरिकता अभावका कारण उनीहरूले मताधिकार प्रयोग गर्न पाएका छैनन्। नागरिकता नहुँदा उनीहरू मतदाता नामावलीमा समावेश हुन सकेका छैनन्।



स्थानीय स्रोतका अनुसार चुनावी प्रचारप्रसार आसपासमा भए पनि उम्मेदवारहरू बस्तीभित्र पुगेर समुदायसँग प्रत्यक्ष संवाद गर्ने क्रम न्यून छ। मताधिकार नहुँदा राजनीतिक दलहरूको प्राथमिकतामा राउटे समुदाय नपरेको स्थानीयको भनाइ छ।
राउटे समुदाय परम्परागत रूपमा घुमन्ते जीवनशैली अपनाउँदै आएको छ। शिक्षा, स्वास्थ्य, रोजगारी र नागरिकता प्राप्तिसम्बन्धी समस्याले उनीहरू लामो समयदेखि राज्य सेवाबाट टाढा छन्। नागरिकता अभावकै कारण सामाजिक सुरक्षा, सरकारी सेवा र राजनीतिक अधिकारबाट समेत वञ्चित हुने अवस्था देखिएको छ।
अधिकारकर्मीहरूका अनुसार मताधिकार सुनिश्चित गर्नु लोकतान्त्रिक अधिकारको आधारभूत पक्ष हो। राउटे समुदायलाई नागरिकता उपलब्ध गराई राजनीतिक प्रक्रियामा सहभागी गराउनु राज्यको दायित्व भएको उनीहरूको धारणा छ।



