काठमाडौं । मध्यपुरथिमि नगरपालिका–८ बोडेमा प्रसिद्ध नीलबाराही नाच सुरु भएको छ । गाईजात्राको भोलिपल्टको मध्यरातिबाट तान्त्रिक विधिअनुसार तीन दिन चार रातसम्म यो नाच मनाईन्छ ।

१९ देवगण सम्मिलित बोडेको अखा द्यों छेँ अर्थात् देवता घरबाट सुरु भई रातभर सहरका विभिन्न चोक एवं टोलमा नाचिरहेको र स्थानीयले पूजा गर्ने प्रचलन रहेको छ । मध्यरातिबाट सुरु भएको नाच भोलिपल्ट बिहान टोलवासीले पूजा गर्ने गर्दछन् । बिहान नीलबाराही नाचका सबै देवगणलाई स्थानीयले पूजा गर्ने गर्छन् । यो क्रम चार रात र बिहान चल्ने गर्छ । नीलबाराही देवीको तान्त्रिक शक्तिका आधारमा यो नाच नाच्ने र देवगणहरूलाई देवीको शक्ति प्राप्त हुने जनविश्वास रहेको छ ।

यसैगरी मध्यपुरथिमि–७ नगदेशमा १२ वर्षपछि गएरातिबाट तान्त्रिक शक्ति रहेको भैलः प्याखँ (भैरव नाच) प्रदर्शन सुरुभएको छ । गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म चार रात मध्यपुरथिमिमा भैरव नाच प्रदर्शन हुनेछ ।

भैलः प्याखँमा न्हापाँ र लिपाँ गरी दुई जना भैलः, न्हापाँ र लिपाँ गरी दुई जना दाँगी र एक जनाज्यापुंगको भेषमा नाचिन्छ भने धाँ, मुहालीलगायतका बाद्यवाधक एवं सहयोगीसमेत गरी एक सय जनाको समूह सक्रिय रूपमा सहभागी भइरहेका छन् ।

यस्तै गएरातिबाटै मध्यपुरथिमि –५ पोबुटालबाट सलचा प्याँख अर्थात् घोडा नाच प्रदर्शन गरिएको छ । चार रातसम्म प्रदर्शन हुने यो नाच भुलाखेल, द्धिगुटोल, बालकुमारी, चपाचालगायत क्षेत्रमा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय