प्रधानमन्त्री बनेको तेस्रो दिनमै सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारमा सक्रिय पहल थालेकी छिन्। उनको आग्रहपछि पूर्वअर्थसचिव रामेश्वर खनाल र नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङ मन्त्री बन्ने सहमतिमा पुगेका छन्। कार्कीले प्रारम्भिक छलफल फोनमार्फत गरेकी थिइन्। सकारात्मक संकेत पाएपछि दुबैजना सिंहदरबार पुगेका थिए। खनाललाई अर्थ मन्त्रालय र घिसिङलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको स्रोतले जनाएको छ।



घिसिङलाई अघिल्लो सरकारले प्राधिकरणको नेतृत्वबाट हटाएपछि उनी राजनीतिक चर्चामा आउने क्रम बढेको थियो। उता, खनाल केही समय नेपाली कांग्रेससँग आवद्ध भए पनि पछि बाहिरिएर अर्थतन्त्रसम्बन्धी अध्ययन र समीक्षा कार्यमा सक्रिय रहेका थिए। यसैबीच, बालेन शाहसँग नजिक रहेका कानुनविद् ओमप्रकाश अर्याललाई समेत मन्त्री बनाउन पहल भइरहेको जानकारी छ। संसद् विघटन प्रक्रियामा कानुनी सहयोग पुर्याएका उनी हाल सरकार गठनसम्बन्धी छलफलमा समेत संलग्न छन्।
स्रोतका अनुसार बालानन्द शर्मा र पूर्व प्रहरी अधिकारी रमेश खरेलको नाम पनि सम्भावित मन्त्रीका रुपमा चर्चामा छ, तर अन्तिम निर्णय अझै हुन बाँकी छ।



